कथा :- धनजिते , बिर्खे दाजै र भ्यु टावर

Halesi Khabar

राई प्रतिक चाम्लिङ बुतेपाछा

आज धनजितेले निक्कै समयपछि गाउमा भतिजो केटोलाई फोन लगायो | लामो बेरको फोन रिङ्गपछि भतिजो गम्भिरेले फोन उठायो |
हेल्लो … गम्भिरे हो ?

हो बाबै हो | ढोग गरे है ! जिब्रो लत्पतिएको प्रष्ट सुनिन्छ |

ल ल भाग्यमानी भएस .! के गर्दैछस ? सन्चै छस् ..?

बाबै हामी सन्चै छौं | अहिले म त पर बिर्खे तिप्पाकोमा आको छु |

ओहो तिहारको रहलपहल उठाउदैछस् कि कसो गम्भिरे ..?

गम्भिरेले हासेर नै जित्यो | नेपथ्यमा बोली नबुझिने गरी अरु बोलेको सुनिन्छ |
लौ बाबै याँ बिर्खे तिप्पा तपाईसँग बोल्ने अरे .. मैले तिप्पलाई फोन दिएँ है …

हेल्लो ..

हेल्लो बिर्खे दाजै हो ?

हो हो अनि चाइनेकेरे धनजिते तेरो खबर के छ हौ त्यता ?

म ठिकै छु दाजै .. त्यताको हालखबर के छ ? दशैँ तिहार रमाइलो गरी मान्नु भो होला ?

चाइनेकेरे यताको के हुनु र ? भर्खर दशैँ तिहार सकियो | पल्लोघरे कान्छाको राँगा काटेर खायौं | चानेकेरे उहिले तिमेरु हुँदा जस्तो रमाइलो छैन अचेल ! तिमेरु हुँदा नाचगान चल्थ्यो रमाइलो हुन्थ्यो तिहार |अहिलेको केटाकेटीहरु १२ बजीसम्म सुत्छ,मात्छ, जुझ्छ बोलाई सक्नु छैन ऐलेको केटाकेटीहरुलाई |
चईनेकेरे भन्नु पुनी लाजमर्दो के ऐले यता त ओठ निचोर्दा आमाको दुध आउनेहरु सल्किन्छ त्यता चि लप परेको भन्दोरछ होइन त ..! कलि जुक आको छ है यता त ..

चाईनेकेरे तैले उ बेला कम्लिष्टलाई भोट हाल्नु भनेदेखि ऐलेसम्म त्यै कम्लिष्टलाई भोट देको | खासै खालो सारेको छैन | कच्ची बाटो गाउँ बल्ल बल्ल आइपुगेको छ | गाउको सबै खेतबारी बाँझै छ | तेरो खेत सबै बाँझै छ | कसैले कमाएन | तेरो भतिजो यी डुल्दै ठिक्क ..! कुहिएको बजारे चामल खाएर गाउको मान्छेहरु सबै अल्छे भाको छ | हिन्दी सुन्नु मधेस झर्नु पर्दैन अचेल तो यत्रो नाङ्ग्लो जस्तो एण्टना कि के भन्दो रच तो राखे पछि टिभीमा हिन्दी मात्तै आउने रछ | मेरो नातीनी त हिन्दी मातै गाउछ, नाच्छ | अँ अनि माथि टेम्केमा भिउ टावर बनाङ्ने भाको छ | चईनेकेरे यो भिउ टावर बनाएर काम छैन, तन्नेरी तरुनी रल्लिने ठाउ मात्रै | बरु तो पैसाले स्कुलमा बस्ने बेन्ची बनाको भए स्कुले नानीहरुले बस्नु पाउथ्यो | हेल्थपोस्टमा सिटामोल, आवश्यक सवस्थ्य सामग्री ल्याएको भए गाउलेले उपचार पाउथो | यत्रो बजेटले गाउमा राम्रो बाटोघाटो शिक्षा, स्वास्थ्य, संचार, विजुली, खानेपानी जस्ता आवश्यक विकासको पुर्वाधारहरु तयार गरेको भए गाउलेहरुको दिन फिर्थो कि ! चाईनेकेरे यो भिउ टावर बनाङ्ने कुरा चि मुखमा माड छैन पिंदमा जाइफलको दाना भने जस्तै लागो है मलाई ता …

बिर्खे दाजैले भट्याउदा भट्याउदै निर्मलीको तिखो बोली धनजितेको कानमा ठोकियो -ए मुर्धार कति फोनमा झुन्डिराखेको …? जाउ सपिङ्ग गर्नु | भरै खाने चामल छैन | रात पर्न लाग्यो |

ल दाजै धेरै समय पछि बोलियो आज फोन राखुङ्ग है -धनजितेले बिदा माग्यो |

ल ल धनजिते, चईनेकेरे खुसी लाग्यो | बेला बेलामा फेसबुकमा फोन गर्दै गर | तेरो भाई अरब गाको छ तो सँग कुरा गर्नु मेरो पुनी फेसबुक छ, त्यसैमा कल गर है ….

हस … दाजै .!

सात कक्षा पास गरेर लाहुरे जाने सुरमा स्कुल पढ्नु छोडेको रे बिर्खे दाईले | बिर्खे दाईले सानो हुँदा धनजितेलाई राम्रो नराम्रो सबै सिकायो | क ख पढ्नु, गोठालोमा गोरुको पुच्छर जोल्ठ्याउनु, घोप्टेर बसेको बेला चाकमा च्वाँके हान्नु, पुक्का हान्नु…, रुख्देखी हगी झार्नु…,सबै कुरा बिर्खे दाईदेखि सिक्यो धनजितेले |
यी सबै सबै कुरा सम्झिन्दै धनजिते बजार पुग्यो र किनमेल गर्यो |

चामलको बोरा काँदमा राखेर आफ्नो बाँझो खेतबारी सम्झिन्दै खिइएको चप्पल प्ल्याट …प्ल्याट .. प्ल्याट बजाउदै कोठा फिर्यो धनजिते …

(राई प्रतिक चाम्लिङ बुतेपाछाकाे फेसबुक पेजबाट साभार)

तपाईको प्रतिक्रिया