हिज्जे नमिलेको राजनीति, खाप्जे परेको देश

Halesi Khabar

–भीम राई
नेपाल भन्ने देशमा देखिने राजनीतिको रुपहरु कहिल्यै फेरिएका छैनन् । लामो नगई छोटो बाटो रोजेर भनुङ देशमा राजनीति गर्ने राजनेताहरुले गरिरहेको परिभाषा नै व्यवस्थित हिसाबले अगाडि आउन सकेन । जब देशको राजनीतिक व्यवस्थालाई व्यवस्थित गर्न नेताहरुको अग्रसरता रहँदैन देशमा खाप्जे पर्न जान्छ ।

नेपाली शब्दकोषले हिज्जे भन्ने एउटा शब्दलाई हरेक शब्दमा रहने अक्षरहरुको व्यवस्थित क्रम भनेर अथ्र्याउँछ । अर्थात यो भनेको वर्णविन्यास हो । अहिले नेपालमा रहेका राजनीतिककर्मीहरुले राजनीतिको वर्णविन्यास नै बिगार्नेगरी व्याख्या र व्यवहार गर्न थालेका छन् ।

जब कुनैपनि शब्दको वर्णविन्यास बिगारिन्छ त्यसले गलत अर्थ लगाउँछ । हो नेपालमा भएको पनि अहिले त्यही हो । राजनीतिको वर्ण विन्यासनै बिगारेपछि देशमा खाप्जे परेको छ । खाप्जे किराँती राईहरुमा चल्तिको भाषा हो । जब कोही बिरामी पर्छ । उसलाई शुरुमा एउटा रोग देखिन्छ । धामी जैसी लगाएर त्यो रोग निको पार्न जोखना हेराइन्छ ।

जोखना हेराउँदा शुरुमा शिकारीको खेल हो भनेपनि शिकारीलाई बोक्सीले उठाएर लगाएको बताउँछ । उसले जङ्गली र पूर्वेदेउको दोष रहेको बताउँछ । भएको बिरामीलाई भने नशाको समस्याले ढाड दुखेको नै किन नहोस उसले निकै खाप्जे परेकाले ठूलै चिन्ता राखेर राज खड्को काट्नुपर्ने विकल्प दिन्छ ।

अहिले हाम्रो देशमा देखिएको सामाजिक आर्थिक तथा राजनीतिक समस्यापनि यहि लाईनमा रहेको छ । खासमा बिग्रेको र समस्या भएको ढाडको नशाको हो तर, हामीले देखाएको धामीहरुले शिकारी लागेको बताउँछन् । शिकारीलाई पनि कहिले बोक्सीले उठाउने, पूर्वे र जंगलीको दोष लाग्ने उनिहरु देख्छन् ।

खासमा ती धामीहरुको दृष्टीमा नै समस्या हो । जसलाई हामी नेपालका राजनीतिक नेतृत्वका पुरेतहरु भनेर भर गरिरहेका छौँ । यो एउटा मात्र पार्टीमा होइन । भएका जति सबैखाले राजनीतिक पार्टीको दृष्टिमा दोष छ । टाउको दुखेको ओखती नाइटोमा दलेर समस्याको समाधान खोज्ने प्रवृत्तिले हाम्रो समग्र मुलुक बन्दक जस्तै बनेको छ ।

नेपाली राजनीतिमा अहिले देखिएको घटनाहरु एक रमितामा मात्र हुन् । कुनै जादुगरले आँखा छलेर देखाएको चटक दिनभरी उभिएर हेर्ने हामी जनता रमिते जस्तै भएका छौँ । सबै किसिमका विकल्पहरु खुला राखेर आउने राजनीतिक पार्टीसँगठनको दुई लाईनको सङ्घर्षको स्वरुप नै हो । तर यसले सिँगो मूलुकको स्वार्थसँग बहस र छलफलको अर्थ राख्छ । तर नेपाली राजनीतिमा उदाएको दलहरुभित्र भईरहेको बहसमा कहाँनीर रहेको छ देश ? सँधै आफूलाई केन्द्रमा राखेर नेताहरुले खेलिरहेको कुटिल चालवाजी बाहेक समाजको आमुल परिवर्तनको बहस कँहि र कतै देखिएका छैनन् ।

नेपाली नेताहरुको आफ्नो विचार सहितको सक्रियता निम्छरो हुँदै गएका छन् । कि उत्तर कि दक्षिणबाट चल्ने हावाले मात्र उनीहरुले राजनीतिको स्वास फेर्न थालेका छन् । सत्ता र शक्तिका लागि आफ्ना देशको नागरिकहरुसँग भन्दा बढी अरुसँग भरोषा लिनेहरुले चलाएको छ यो देश ।

नेपालको राजनीतिमा स्वाधिनता भन्ने विषयहरु अब सायदैमात्र होलान भन्ने कुराको सङ्केत पछिल्लो घटनाक्रमहरुले देखाएका छन् । देशको शासन सत्ताको बागडोर समालेको राजनीतिक दलमा देखिएको विवाद यसको पछिल्लो नमूना हो ।

नेतृत्वको हालत जहिल्यै अरुले मिलाईदिनु पर्ने आफूआफू मिल्नै नसक्ने अवस्थाको हुनु दुर्भाग्य हो । आफूलाई विभाजनको पक्षमा छैन भनेर प्रमाणित गरिरहनुका लागि पक्ष र विपक्षमा लागेर तर्क र वितर्कहरु गरिरहने युगमा छौँ । देशको विकास र समृद्धिको बहस र छलफलका लागि हामी तयार नै नभइसकेका जस्तो देखिन थालेका छौँ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको पछिल्लो विवादले धेरैलाई गुमराहमा पारेको छ । केही आसपासमा रहेका कार्यकर्ताहरुलाई पक्ष र विपक्षमा लागि रहनुपर्ने बानीका कारण बेला बेलामा नेतृत्व हौसिन पुग्छ । अनि फेरि उपचारको विधिहरु खोजिन थाल्छ । दक्षिणबाट रातारात दुत पठाइन्छ ।

एउटा नयाँ तरङ्ग सिर्जना गरेर कुलेलम ठोक्छ । जसले सोझा र आशावादी रहेका शुभचिन्तकहरुलाई त्राहिमाम बनाउँछ । रातारात विवादका पुलिन्दाहरु खोलिन्छन् । आफूलाई निकै लामो समय नेपाली राजनीतिको केन्द्रविन्दुमा राखि रहने सुझबुझ भएका नेताहरु केटाकेटीपनमा ओर्लन्छन् ।

यसपछि फेरि उत्तरतर्फबाट क्रियाशिलता बढ्छ । राता रात भेटघाटहरु बाग्लिन थाल्छन् । अनि बल्ल नेतृत्वको चेत खुल्छ । आखिर खास गर्न खोजेको चाँहि के हो भन्ने विषय भने कसैलाई थाहा नहुने भएको छ नेपालको राजनीति ।

मुख्यत ः नेतृत्व तहको पहिलो लाइन पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको छाँया देखिए पनि यो लाईन दोस्रोमा सचिवालयको लाईन, त्यसपछिको स्थायी समितिको लाईन हुँदै केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै गाउँसम्मै यो रोग छिरिसकेको छ ।

लामो समय सत्तामा बसेर आफूलाई स्थापित गरेको पार्टी नेपाली काँग्रेस मुलत आफूलाई लोकतन्त्रको जननी संस्थाको रुपमा लिन्छ । अहिले मुलुकमा यहि दरिलो राजनीतिक दलनै प्रतिपक्षमा छ । तर सत्तापक्षमा रहेर प्रतिपक्षले गर्ने खबरदारीमा काँग्रेसको भूमिका शुन्य जस्तै छ ।

काँग्रेसका शेरबहादुर देउबालाई रामचन्द्र पौडेल धान्न नै गारो भइरहेको छ । कृष्ण सिटौला र गगनहरुले समेत यो कुरालाई उठाउन भन्दा बढी देउबालाई थलोपार्ने खेलमा लाग्दा राजनीतिले नया मोड लिन सकेको छैन ।

उसो त नया ढङ्गले पार्टी निर्माण गरेर नेपाली राजनीतिमा नया धारको निर्माण गर्ने भनेर लागेको जनता समाजवादी पार्टीको हालत उपेन्द्र, महन्त, अशोक र बाबुराम भन्दा तल झर्न सकेको छैन । सङ्गठन निर्माणको अभियान छिटपुट रहेको जनता समाजवादी पार्टी भर्खरै एकिकरण भएपछि संसदीय दलको नेता छान्नमा हम्मेहम्मे परिरहेको छ ।

उपेन्द्र भर्सेज राजेन्द्र महतोको विषयले कुरा पेचिलो बन्दै गएको छ । सबै नेताहरुले आफ्नो पोजिसन खोजिरहेकाले समस्या उति छिटो समाधान नुहने देखिन्छ । यस्तै विविसिको जागीर छाडेर साझा पार्टी बनाएका रविन्द्र मिश्रको हालत उस्तै खबर छ ।

घरी साँझ विवेकशिल हुने घरी साझामात्र हुने यात्राले योपनि भरसिलो गरी राजनीतिमा आएको भन्ने देखिन्न । यी र यस्ता आफूचिन्ते झोली बोकेका राजनीतिक नेतृत्वका कारण मुलुृक भने दिन दुई गुणा रात चौगुणा समस्यामा फस्दै गइरहेको छ । यसले हाम्रो देशको भाग्य र भविष्य कता लाँदैछन् नेतृत्व तहले भन्ने प्रश्न गर्ने समय आएन र ?

तपाईको प्रतिक्रिया