रावाबेँसी गाउँपालिकाका कृषकलाई पशु तथा कृषि सामग्री 

Halesi Khabar

खोटाङ, ४ मङ्सिर । रावाबेँसी गाउँपालिकाका कृषक समूह तथा व्यक्तिगत फार्मलाई बोयर जातको बोका र कृषि सामग्री प्रदान गरिएको छ । गाउँपालिका र स्वीस सरकारको हेल्भेटास परियोजना अन्तरगत पालिकामा गठित कृषक समूह र व्यक्तिगत फार्मलाई बोयर जातको बोकाको साथमा कृषि सामग्री प्रदान गरिएको हो ।

वडा नं १, ४, ५ र ६ नम्बर वडाका फार्म र समूहलाई रु चार लाख २० हजार बराबरको एक÷एक वटा बोयर जातको बोका वितरण गरिएको छ, भने वडा नं ६, ४ र १ का कृषक समूहलाई घाँस काट्ने च्यास कटर वितरण गरिएको गाँउपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार व्यक्तिगत फार्मलाई तौलिने मेसिन ६ वटा, सबै वडालाई एक÷एक वटा मल्टिक्रब थ्रेसर मेसिन, मौरी पालनका लागि कृषक समूहलाई ६० वटा आधुनिक घार र ५५ कृषक समूहलाई एक हजार सुपर ग्रिनव्याक गरी जम्मा रु ४७ लाख बराबरको पशु तथा कृषि सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा गाउँपालिका प्रमुख निरौला, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, ६ नम्बर वडाका अध्यक्ष यज्ञनारायण श्रेष्ठ, परियोजनाका स्थानीय प्रतिनिधि भूमिप्रसाद काफ्ले लगायतको उपस्थिति रहेको थियो । यसैबीच, सो गाउँपालिकामा जारी गँहुको बीउ वितरण कार्यक्रम आजबाट सम्पन्न भएको छ ।

वडा नं २ मा ४०० केजी, ५ नम्बरमा ७५० केजी र ३ नम्बरमा ४० केजी गँहुको बीउ वितरण गरिएको जनाइएको छ । हालसम्म तीन हजार ७२० केजी गँहुको विउवितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया