हुस्की वियरले, मन उडाई लग्यो है दशैँ तिहारले…

Halesi Khabar

–भीम राई
केहि समय अगाडि सामाजिक सञ्जालमा ब्याण्ड भर्सेज ब्राण्डको निकै ठूलो लहर चलेको थियो । संविधानसभाका सदस्य तथा १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य उषाकला राईले घरेलु मदिरालाई ब्याण्ड होइन ब्राण्ड बनाउनु पर्ने भन्दै सदनमै बोलेपछि समाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको चर्चा चुलिएको थियो ।

खोटाङ जिल्लाबाट प्रदेशसभामा समानुपातिक सदस्य बन्नुभएकी राईले घरेलु मदिरालाई सरकारले ब्याण्ड गरेर राज्यको अर्थतन्त्र डुबाएको, विदेशबाट महँगा महँगा मदिरा तथा पेय पदार्थ ल्याएर ब्राण्डको रुपमा बेचिरहेकोमा कटाक्ष गर्नुभएको थियो ।

प्रत्येक आदिवासी जनजातिहरुले घरमै परम्परागत रुपमा बनाउने कोदोको तीन पाने (रक्सी)लाई सरकारले प्रतिबन्द गरेकोमा विरोधका स्वर उठेको हो । तर, एउटा तथ्य के आएको छ भने सीएनएनले ‘वल्र्डस फिप्टी मोस्ट डेलिसियस ड्रिंक्स’ शिर्षकमा सन् २०१८ मा प्रकाशन गरेको एउटा जर्नलले भने अर्कै कुरा लेखेको छ ।

जर्नलमा उल्लेख भए अनुसार ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ । यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि आनन्द दिन्छ । यो स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।’ यो कुरालाई आधार मान्ने हो भने त सरकारले तत्काल प्रतिबन्ध हटाउनु पर्ला ।

अर्को प्रसँग रक्सीसँग मात्र होइन यसको उत्पादन गर्ने प्रविधिमा पनि हाम्रा पूर्खाहरुको विज्ञतालाई कम आँक्न मिल्दैन । यसका लागि शुरुमा आवश्यक पर्ने औषधी हो मर्चाको बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

मर्चा जडिबुटीबाट घरेलु प्रविधिबाट निर्माण गरिएको एक प्रकारको औषधी हो । यसको निर्माण गर्न माउ मर्चाको आवश्यक पर्छ । मर्चा निर्माण जो कोही गर्दैनन् ।

गाउँघरमा एकाध घरहरुमा उत्पादन हुन्छ मर्चा । मर्चालाई बनाउने माउ मर्चा चाहिने भएकाले यो कति औँ पुस्ताको मर्चा होला हामीले त अनुमान गर्न पनि गारो छ । भनेको प्रविधिको विविध अभ्यासहरुबाट निर्माण गरिएको मर्चा र यसको प्रयोग गरेर गाउँमै फलाइएको कोदो, मकै, गहुँ, धान, चामल, जुनेलो आदी अन्नहरुलाई पकाएर गुम्साएपछि बनेको जाँड वा छ्याङ कति अर्गानिक होला अनुमान गरौँ ।

त्यही जाँड वा छ्याङलाई फेरी वाष्पीकरण प्रविधिबाट पसिना बनाएर जम्मा गरिएको पानी हो रक्सी । यसको प्रयोग किन अवैधानिक हुने ? यसमा जोडिएका अरु अर्थतन्त्र र स्वास्थ्यका कुरा होलान ।

कुन चाँहि मदिराले धेरै खाएमा स्वास्थ्य राम्रो गर्छ होला । उत्तर छ त ? अनि हाम्रो आफ्नै गाउँमा उत्पादन भएको कुराहरुको प्रयोग गरेर आफ्नै प्रविधिले उत्पादन गरेको मदिरा किन्दा अर्थतन्त्र नबिग्रने विदेशी बहुराष्ट्रिय कम्पनीले नाफा कमाउनेगरी बेचेको वियर, हुस्की, रम, ब्राण्डी, वाईन किन्दा अर्थतन्त्र जोगिएला त ? यी सबै प्रश्नहरुको जञ्जालभित्र एकपटक पसेर सोचौँ त खास के कुरा आउँदा रहेछन् ।

यी माथिका सबै बृतान्त, प्रश्न र जिज्ञासा यसपालीको दशैँ तथा तिहारको बेला जन्मिएका हुन् । दशैँको समयमा आउने पाहुनाले ल्याउने कोशेलीमा हुस्की, खुकुरी रम, क्यानको वियर र यी केही नखानेकालागि भनेर कोकाकोला, डिउ ल्याउने चलन देखियो ।

यस्तै पाहुना आएका छन् घरमा दिने ठाउँमा फेरी उहि कुरा ड्यू, रम, वियर । वर्ष दिनको चाड हो । यसमा आदिवासी जनजाति समुदाय अर्थात मतवालीहरुको घरमा हुने कुरा अर्गानिक जाँड रक्सीको ठाउँ ओगेटेको पाइयो नै अन्य समुदायको दूध, दही, सर्वत र चियाको ठाउँसमेत यीन बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पदार्थले नै भरिएको पाइएपछि उदेक नमानी सुखै नहुने खालको परिवेश सिर्जना हुँदो रहेछ ।

यस्तै तिहारको कुरा अझै उस्तै रह्यो प्राय सबै छोरीचेलीहरुले माइतीलाई भनेर राखी दिएको कोशेली फूल लगाउने बेला यी र यस्तै मात्र जिनिसले भरिएका फोटाहरु सामाजिक सञ्जाल भरी देख्न पाइएको छ । खासमा स्थानीय उत्पादनको पेय पदार्थलाई सरकारले गरेको प्रतिबन्द छोरी चेलीहरुले मानेको जस्तो देखिएपनि स्थानीय सँस्कार सँस्कृतिमा आधारित जस्तो तिहार भने पटक्कै नलाग्ने रहेछ । यस्तो देखिदा ।

सामन्यतया एउटा वियर राख्ने ठाउँमा लोकल रक्सी या निघार नै दिएको भएपनि त हुने भन्ने लागेको धेरै माइतीहरुको सुनियो । बजारमा चर्चा पनि यस्तै भएका थिए । यसले खासमा दुईवटा कुराको तर्कहरु अगाडि सरे । एउटा अर्थतन्त्र बाहिर गयो ।

बजारमा आएको तर्क अनुसार तिहारमा चेलीले माइतीलाई शिर उभ्याइ दिएपछि माइतीलेसमेत दक्षिणा दिएर शिर उभ्याउने चलन जुुन्छ । त्यो शिर चाँहि वियर, हुस्की, रम, ड्यू उत्पादन गर्ने कम्पनीको मात्र उठेको थियो । माइती पनि रित्तो चेली पनि रित्तो । अनि याद आयो तिहार सकिएपछि लाग्ने ठूलो एकादशी मेलाको गीत ‘हुस्की वियरले, मन उडाई लग्यो है दशैँ तिहारले’…!

तपाईको प्रतिक्रिया