हलेसी खबर डटकमको प्रधान सम्पादकमा भीम राई नियुक्त

Halesi Khabar

खोटाङ, ४ मङ्सिर । हलेसी न्यूज नेटवर्क प्रा.लि.द्धारा सञ्चालित हलेसी खबर डटकमको प्रधान सम्पादकको जिम्मेवारी पत्रकार भीम राईले सम्हाल्नुभएको छ । नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दमन राईले आफ्नो व्यस्तता कारण राजीनामा दिनुभएपछि किराँत राई पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका पत्रकार राईले बिहिबारदेखि औपचारिक रुपमा प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको हो ।

जिल्लामा रहेर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता पेशामा क्रियाशील पत्रकार राईले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभएको छ । वि.सं. २०५४ सालदेखि जिल्लामा रहेर पत्रकारिता पेशामा क्रियाशील पत्रकार राईले प्रधान सम्पादकको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्नुभएपछि प्रा.लि.का अध्यक्ष हरिवोल आचार्य लगायतलाई आभार व्यक्त गर्नुभएको छ ।

प्रा.लि.द्धारा हलेसी खबर डटकम, हलेसी खबर साप्ताहिक तथा हलेसी खबर अनलाइन टिभी (यूट्युब) सञ्चालन हुँदै आएको छ । पछिल्लो समय नेपालका पत्रकारहरुले व्यक्तिपिच्छे सञ्चारमाध्यम खोल्नाले समस्या सिर्जना भएको र आगामी दिनमा समायोजन गरेर अगाडि बढ्नुपर्ने प्रा.लि.का अध्यक्ष आचार्यले बताउनुभयो ।

पत्रकार राईले प्रधान सम्पादकको जिम्मेवारी सम्हालेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको स्टाटस जस्ताको तस्तै ः

हार्दिक आभार तथा धन्यवाद !

नेपालको संंविधान २०७२ को धारा २७ ले आम नागरिकको सूचनाको हकलाई व्यवस्थित गरेको छ । आम नागरिकले आफ्नो सरोकारको विषयलाई लिएर जानकारी लिन पाउने अधिकार दिएर यो संवैधानिक व्यवस्था गरिएको हो ।

सूचनाको हकलाई व्यवस्थित हिसाबले आम नागरिक समक्ष पु¥याउने अभिभारा आम सञ्चारमाध्यामलाई जाने गर्दछ । सरकारी तवरले गर्ने सूचना सम्प्रेशण प्रभावकारी ढङ्गले सर्वसाधरणसम्म पुग्न नसक्ने अवस्थामा संविधानको धारा १९ मा व्याख्या भएको सञ्चारको हकलाई उपयोग गर्दै सञ्चालनमा आएका सञ्चार माध्यममार्फत हुने गर्दछ ।

तर सरकारी कार्यालय तथा सेवा प्रदायक संस्थाहरुले यो हकको पूर्ण उपभोग गर्न नदिई रहेको हो की व्यवस्थापन गर्न नसकिरहेको भन्ने विषयमा भने बहस हुन जरुरी छ । यस्तो विषम परिवेशमा एक ऐतिहासिक जिम्मेवारी प्रदान गर्नुभएको हलेसी न्यूज नेटवर्क प्रा.लि. प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

पत्रकारिताको दुई दशक बढीको मेरो भोगाई, बुझाई र सिकाइ अनुसार जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यदि सोचेको जस्तो काम गर्न नसकिने रहेछ म जिम्मेवारीबाट फर्किनु कुनै हिच्किचाहट हुने छैन् । धन्यवाद !

 

तपाईको प्रतिक्रिया