नेकपा विवाद ‘जुध्यो जुध्यो तर, जुधेन’

Halesi Khabar

भीम राई
कथा निकै पहिले सुनेको । खोटाङबाट एकजना दाइ काठमाडौँ गएछन् । काठमाडौँ यो बेलाको जस्तो पनि थिएन । स्वभाविक हिसाबले साँघुरो सडक हुने । सवारी साधनको चाप बेस्सरी बढेको ।

अझै काठमाडौँको डिल्लीबजारको सडक जति व्यस्त अरु ठाउँ नहुने । गाउँबाट शहर गएका ति दाइ शहरमा रोजगारी खोज्ने भनेर गाउँबाट हिँडेका । उनी पुगेछन् डिल्लीबजार मैतिदेवि नजिकको होटलमा । चिया खाजा बेच्ने होटलमा काम सोधेछन् ।

साहुजी पनि दयालु स्वभावका भएकाले काम दिनेपनि भएछन् । काठमाडौँ पुगेको भोलिपल्टैबाट उनको काम शुरु भयो । रोजगारी मिल्यो । उनले चिया खाजा खाएको गिलास तथा प्लेट माझ्न थाले । उनलाई शहर आफैमा बिरानो थियो । खोटाङमा हुँदा कहिले गाडी चढ्नु त के देख्नसम्म पनि नपाएका ति दाइ गाडीहरु देखेर अचम्म मान्ने नै भए ।

डिल्लीबजारको पिपलबोटमाथि चिया पसल । चिया पसलमा जुठो गिलास प्लेट कति नै पो हुन्छ र ? एक छिनको काम त हो । ति दाइ विचरा एकैछिनमा जुठाभाँडा गरेर पिपलको बोटमा जाँदा रहेछन् । त्यहाँ गौशला तिरबाट गाडी आउने र पुतली सडकतिरबाट आउने गाडी ओहोर दोहोर गर्ने नै भयो । उनी परबाट आएको गाडी हेर्दा रहेछन् ।

रफ्तारमा आउँछ गाडी । दुवैतिरबाट कस्सीएर गाडी आएपछि दाइलाई अब जुध्छ भन्ने लाग्दो रहेछ । उनी मनमा लागेको कुरा बोली हाल्ने बानीका रहेछन् । उनले उताबाट गाडी आउने यतबाट पनि जाने देखेपछि भन्दा रहेछन् । ‘ला अब जुध्यो जुध्यो’ भन्दा भन्दै गाडी क्रस भइहाल्दो रहेछ ।

‘जुधेन’ भन्दा रहेछन् । एवम् रितले उनले निरन्तर दैनिक यसरी नै हेर्दा रहेछन् । अब चाँही जुध्ला भनेर तर कहिल्यै गाडी नजुध्ने । दैनिक उनले त्यही पिपलको फेदमा बसेर गाडी हेर्दै भन्दा रहेछन्, ‘जुध्य जुध्यो तर, जुधेन’ फेरि अर्को आउँछ । फेरि त्यही कुरा अब चाँही जुध्यो जुध्यो फेरि जुधेन ।

यसरी दिनहुँ हेर्दा हेर्दा गाडी कहिल्यै जुधेनन् । बरु उनले भने पछि गिलास प्लेट माझ्दा सम्म पनि यहि शब्द भन्न थालेछन् । ‘जुध्यो जुध्यो.. जुधेन’ । यो कथा केहि समय अगाडि लेखक तथा स्तम्भकार हरि रोक्काले सुनाएको भनेर एउटा कार्यक्रममा खोटाङका पूर्व सांसद टंक राईले सुनाएका थिए ।

वास्तवमा अहिले सत्तासिन राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हालत पनि यस्तै हो । झट्ट बाहिरबाट हेर्दा पार्टी चकनाचुर हुने भयो जस्तै देखिन्छ । विवादहरुको श्रृङ्खला हेर्दा कहाली लाग्दो गरी आलोचना विरोधका स्वर र कृयाकलापहरु देखिन्छ ।

मिडियाहरुले उछाल्नु पनि त्यही रफ्तारमा उछाली रहेका हुन्छन् । तर परिणाम त पार्टी विभाजन हुने वा अप्रिय निर्णय भने हुँदैन । सामन्यत कम्युनिष्ट पार्टीभित्र दुई लाईनको सङ्घर्ष हुन्छ । पार्टीले अख्तियार गरेको माक्र्सवादी सिद्धान्त, लेनिनवादी सङ्गठनात्मक पद्धति, द्धन्द्धवादी दृष्टिकोणका आधारमा पार्टीमा छलफल र बहसहरु हुने गर्दछन् ।

सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीका आधारमा काम गर्दै जाँदा कहिले काँही छलफल र बहसहरु हुने गर्दछन् । यसो हुनु भनेको राजनीतिक पार्टीको जीवन चलायमान हुनु हो । अझ कम्युनिष्ट पार्टी आफैमा द्धन्द्धवादको नियमलाई आत्मसाथ गर्ने राजनीतिक दल भएकैले विचारहरुको ध्रुविकरण गर्नका लागि यस्ता छलफल र बहसहरु आवश्यक हुन्छन् ।

यसले सिमा नाघेन भने पार्टी मजवुद हुन्छ । हिजोको सामाजिक, आर्थिक र राजनीतिक चरित्र भन्दा आज केही हदसम्म फेरिएको छ । शासन सत्ताले गर्ने अभ्याहरु फेरिएका छन् । यस्तो बेलामा राजनीतिले सहि दिशा समात्न सकेन भने मुलुक पछि पर्छ । तर पछाडि भने कहिल्यै फर्किन सक्तैन । अहिले नेकपामा भएको समस्यापनि यतिमात्र हो ।

वर्तमान समाजको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाको वस्तुस्थितिसँग मेल खाने किसिमको शासन कसरी सञ्चालन गर्न सकिन्छ भन्नेमा बहसमात्र हो । यसमा कोही कसैलाई फुटको अपेक्षा भएपनि नेतृत्व त्यति अबुझ छन् भन्ने लाग्दैन । नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीको नाममा आएको यो सुनौलो अवसरलाई नेतृत्वको हठात मनस्थितिले निरासामा पु¥याइ हाल्ला भन्नेमा शङ्का गर्नु पर्दछ ।

किनभने यो अवसर जुटाउनका लागि नेपाली कम्युनिष्ट आन्दोलनले लगभग ७० वर्ष कुर्नु परेको छ । ७० वर्षपछि नेपाली जनताको बीचबाट प्राप्त गरेको विश्वासलाई केही नेतृत्वको फरक फरक स्कुलिङ र फरक फरक बुझाइले गर्दा फेरि गुमाउनु सबै भन्दा दुर्भाग्य शिवाय अरु केही हुनै सक्तैन ।

नेपाली कम्युनिष्ट आन्दोलनमा विगतमा देखिएको फुटको असरपनि राम्रै जानेका नेतृत्वहरु अहिले जिम्मेवार तहमा छन् । फुटका फाइदा र बेफाईदा राम्रै बुझेकाहरुले त्यो जोखिम मोलि हाल्लान् भन्ने विषय टाढाको विषय नै हो । यसबेला तरङ्गित पार्ने काम गरिरहेका क्रियाकलाप भनेको सुद्धिकरणको नयाँ शैलि हुन सक्छ ।

यसबाट आलोचना गर्ने आत्मालोचना गर्ने सुविधा उपलब्ध गराएको बाहेक अरु केही हुन सक्तैन । त्यसर्थ अहिले सञ्चारमाध्याममा आइरहेका विकाउको समाचारहरु भने उहि खोटाङगे दाइले काठमाडौँको डिल्लीबजार पिपलबोट माथिबाट गाडी हेरेर ‘जुध्यो जुध्यो तर जुधेन’ भने जस्तो मात्र हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया