कोरोना संक्रमणबाट जोगिन देउसी भैलोमा रोकावट

Halesi Khabar

खोटाङ २६, कातिक । कोरोना संक्रमणका कारण तिहारमा खेलिने देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । खोटाङमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिललाभित्र तिहारमा देउसी भैलो खेल्न नपाइने सूचना जारी गरिएको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै चाडपर्वको अवसरमा गरिने सामूहिक भेला, जम्मा भइ गरिने शुभकामना आदान–प्रदान, चियापान, समुहमा खेलिने खेलकुद, सांस्कृतिक कार्यक्रम र राजनैतिक तथा अन्य गतिविधि नगर्न भनेको छ । यस्तै सूचनामा तिहारको समयमा हुने आगलागी र त्यसबाट हुने क्षतिलाई मध्यनजर राख्दै आतेसबाजी, पटका लगायतका बिष्फोटकजन्य पदार्थहरु बेचबिखन र प्रयोग गर्न नपाईने, राती ८ बजेभन्दा पछि मदिरा बेचविखन तथा विक्री वितरण गर्न नपाईने, जुवा तास तथा जुवाजन्य खेल खेल्ने, खेलाउने गरेको पाइएमा तत्काल पक्राउ गरी जुवा तथा तास खालमा भेटिएका धनमाल जफत गरी नियमअनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलद्धारा प्रकाशित सूचनामा उल्लेख छ ।
चाडपर्वमा अत्यवाश्यक सामग्री किनमेल तथा भेटघाट गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न, बेलाबेलामा साबुन पानीले हात धुन, तथा कोरोनाको जोखिमबाट बच्न अपनाउनु पर्ने न्युनतम मापदण्डहरु अपनाउन कोभिड संकट व्यवस्थापन तथा जिल्ला सुरक्षा समितिले आम नागरिकलाई आग्रह गरेकोे छ ।

तपाईको प्रतिक्रिया