महामारीका बेला यी उपाय अपनाउँदा फोक्सो स्वस्थ र बलियो हुन्छ

Halesi Khabar

एजेन्सी । सर्वत्र कोरोना सङ्क्रमणको महामारी जारी रहेकै बेला यसबाट बच्न सबैखाले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु पर्छ । खासगरी रोगप्रतिरोधी क्षमतामा ह्रास आउन दिनुहुँदैन ।

यसका लागि नियमित खानपान र सरसफाईमा विशेष ध्यान दिनु पर्छ । कोरोना भाइरसले फोक्सोमा आक्रमण गरिसकेपछि स्थिति गम्भीर बन्ने हुनाले आफ्नो फोक्सोलाई स्वस्थ राख्न चिकित्सकहरुले सल्लाह दिंदै आएका छन । जसका लागि फोक्सोको सफाई गर्न जरुरी हुन्छ ।

बायु प्रदुषणबाट बच्नु पर्छ । नियमित ब्यायाम गर्नुपर्छ । दैनिक रुपमा अदुवाको चिया अर्थात ‘जिन्जर टि’ पिउनु पर्छ । अदुवाको चियामा हुने एन्टि इन्फ्लेमेटरी तत्वले फोक्सोमा भएका विषाक्त तत्वहरु स्वास प्रश्वास, खकार र सिंगानको माध्यमबाट बाहिर निकाल्छ ।

त्यसैगरी अदुवाको चियामा पोटासियम, म्याग्नेसियम, जिंक र बीटा केरोटिन जस्ता औषधीय तत्वहरु हुन्छन । यसले फोक्सोलाई तन्दुरुस्त राख्छ । अदुवा चियाले शरीरमा भएको क्यान्सरजन्य कोशिकाहरुलाई नष्ट गर्छ र फोक्सोको राम्ररी सफाई गर्ने वैज्ञानिक अध्ययनले देखाएको छ ।

त्यसैगरी दालचिनीको चिया पनि हाम्रो फोक्सोका लागि निकै लाभदायक मानिन्छ । रोमन साम्राज्य ताका यसलाई पाचन शक्ति बलियो बनाउन र श्वासप्रश्वास प्रकृयालाई ठिकठाक राख्न औषधिको रुपमा प्रयोग गरिन्थ्यो । एक गिलास पानीमा थोरै दालचिनी हालेर पानी आधा हुनेगरी उमालेर पिउँदा यसले फोक्सोको सफाई गर्छ ।

फोक्सोको सफाईका लागि स्टिम थेरापीलाई पनि महत्वपूर्ण मानिन्छ । स्टिम थेरापीबाट पाइने पानीको बाफले फोक्सोको हावा भरिने थैलीहरुलाई खोल्छ र ती थैलीहरुमा रहेका खकारजस्ता विकारी पदार्थहरु निकाल्छ ।

स्टिम बाथ गर्दा तथा बाफ लिंदा श्वासप्रश्वासको समस्यामा छिटो फाइदा गर्छ । जाडो समयमा त स्टिम बाथ शरीरका लागि अनिवार्य जस्तै मानिन्छ ।

त्यसैगरी हरेक रात सुत्नुअघि बेसार पानीले कुल्ला गर्दा पनि फोक्सोको सफाई गर्न सकिन्छ । एक गिलास तातो पानीमा एक चिम्टी बेसार घोलेर कुल्ला गर्न चिकित्सकहरु सल्लाह दिन्छन ।

बेसारमा कक्र्युमिन भनिने सक्रिय यौगिक तत्व हुन्छ । यसले फोक्सो र घाँटीमा जमेका खकारहरु बाहिर निकाल्छ । यसले छातीको समस्यामा पनि राहत दिन्छ । खासगरी बेसार पानीमा रहेको औषधीय गुणले ब्याक्टेरियाहरु मार्छ भने रुघा खोकीमा पनि राहत दिन्छ ।

त्यसैगरी नियमित रुपमा प्राणायाम गर्नाले पनि फोक्सोमा रहेका हावाका थैलीहरुलाई खोलिदिन्छ । यसले मुटु र फोक्सोमा खकार जम्न दिंदैन । नाकका दुवै प्वालमा एक एक थोपा शीशमको तेल हालेर प्राणायाम गर्दा तुरुन्तै राहत मिल्छ ।

अमेरिकन कलेज अफ न्युट्रिशनले प्रकाशित गर्ने एक जर्नलमा उल्लेख भए अनुसार ओखरमा भरपूर मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड हुन्छ । यो फोक्सोका लागि अत्यन्तै लाभदायक हुन्छ ।

आफ्नो नियमित खानामा ओखरलाई समावेश गर्दा फोक्सोको समस्याबाट छुटकारा मिल्छ । ओखरको सेवनले श्वासप्रश्वासमा गारो हुने अस्थमा जस्ता रोगबाट पनि मुक्त हुन सघाउँछ ।

त्यसैगरी जुन माछामा बोसो अधिक हुन्छ, त्यो माछा हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिन्छ । त्यसमा ओमेगा थ्री फ्याट्टी एसिड हुन्छ । ओमेगा थ्री फ्याट्टी एसिडका लागि सालमन र ट्राउट माछालाई उपयुक्त विकल्प मानिन्छ ।

गेडागुडीको तरकारी वा दाल खाँदा पनि फोक्सोलाई स्वस्थ बनाउन सकिन्छ । गेडागुडीमा हरेक प्रकारका पौष्टिक तत्वहरु पाइने हुनाले यसलाई नियमित खानामा समावेश गर्न चिकित्सकहरु सल्लाह दिन्छन ।

त्यसैगरी फोक्सोलाई स्वस्थ बनाइराख्न दैनिक एउटा स्याउ खानु पर्छ । स्याउमा पाइने भिटामिन ई, भिटामिन सी, बीटा केरोटिन जस्ता पोषक तत्वले फोक्सोलाई स्वस्थ र बलियो बनाउँछ ।

त्यसैगरी आरु खाँदा पनि फोक्सोलाई तन्दुरुस्त बनाउन सकिन्छ । आरुमा रहेको भिटामिन ए ले फोक्सोमा संक्रमण हुनबाट बचाउने विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया