जन्तेढुङ्गा गाउँपालिकामा नेकपाको श्रम शिविर

Halesi Khabar

खोटाङ, २२ कात्तिक । जन्तेढुङ्गा गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले श्रम शिविर सञ्चालन गरेको छ । गत असोज १८ र १९ गतेको नेकपा जिल्ला सचिवालय समितिको बैठकको निर्णय अनुसार नेकपाको गाउँपालिकास्तरीय समितिले एकदिने श्रम शिविरको सञ्चालन गरेको हो ।

जिल्ला सचिवालय समितिको निर्णय लगत्तै असोज ३० गतेको गाउँपालिका समितिको अर्को निर्णय अनुसार उक्त गाउँपालिकाको सबै वडामा एकैदिन श्रमशिविर सञ्चालन गरिएको गाउँपालिका समिति अध्यक्ष यामकुमार राईले बताउनुभयो । श्रम शिविर अन्तरगत सडक तथा गोरेटो बाटो मर्मत गरिएको जनाइएको छ ।

नेकपाको गाउँपालिका समितिको समन्वयमा सम्बन्धित वडा समितिको अगुवाईमा वर्षाका कारण बिग्रे÷भत्केका सडक तथा गोरेटो बाटो मर्मत सम्भार गरिएको जनाइएको छ । नेकपाले वडा नम्बर–१ देविस्थानमा मैनटारदेखि सिक्किमटार जोड्ने सडक मर्मत गरेको छ । सो सडक वर्षाको पहिरोले भत्काएको थियो ।

यस्तै देविस्थानकै खनियाबासदेखि रिला जोड्ने सडक र गोरेटो बाटो मर्मत गरिएको छ । वडा नम्बर–२ बोपुङमा ह्युराङदेखि पाँडेगाउँ जाने सडक मर्मत गरिएको नेकपाले जनाएको छ । बङ्शिलाघाट जोड्ने ह्युराङ–पाँडेगाउँ सडक गत कात्तिक ९ गते परेको भारी वर्षाले भत्किएको थियो । नेकपाले सञ्चालन गरेको श्रम शिविरका माध्यमबाट पहिरोले भत्काएको सडकको पर्खाल लगाइएको छ ।

यस्तै, वडा नम्बर–३ काहुलेमा सालम्बुदेखि बुँवा खोलासम्मको सडक मर्मत गरिएको छ । वडा नम्बर–४ डम्वर्खुशिवालयमा कुईभीर भञ्ज्याङखर्क सडक खण्डको एक किलोमिटर खण्ड मर्मतका साथै नाली काट्ने काम गरिएको छ । वडा नम्बर–५ चिसापानीमा सुरुङ्गेलदेखि मैदानसम्मको दुई किलोमिटर लामो पुरानो गोरेटो बाटो मर्मत गरिएको जनाइएको छ ।

वडा नम्बर–६ दिप्लुङमा ऐतिहासिक एवम् पर्यटकीयस्थल जन्तेढुङ्गाको परिषर सरफाई गरिएको नेकपा गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । श्रमशिविरमा ज्येष्ठ नागरिक ७६ वर्षीय लक्षुमान रोईलाको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया