असोजमा ४९१ सवारी कारबाहीमा, रु तीन लाख ४२ हजार राजश्व सङ्कलन

Halesi Khabar

खोटाङ, ७ कात्तिक । ट्राफिक प्रहरी कार्यालय खोटाङले गत असोजमा नियम विपरित सञ्चालन गर्ने ४९१ वटा सवारी साधनका धनीलाई कारबाही गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको अवधिमा नियम बिपरित जबरजस्ती सञ्चालन गरिएका सवारी साधनका धनीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा ट्राफिक नियम बिपरित चलाइएका सवारी साधनका धनीबाट रु तीन लाख ४२ हजार ५०० जरिवाना बापत राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक नरेन्द्रप्रसाद पौडेलका अनुसार ११९ वटा ट्रक रु ७५ हजार, एउटा बसबाट रु ५००, ७५ वटा टाटा सुमोबाट रु ४७ हजार, ४८ वटा ट्याक्टरबाट रु ३२ हजार, २३५ वटा मोटरसाइकलबाट रु एक लाख ७७ हजार, ८ वटा अटो टेम्पुबाटरु छ हजार, अन्य पाँच वटा साना सवारी साधनबाट रु पाँच हजार जरिवाना राजश्व सङ्कलन गरिएको हो ।

ट्राफिक प्रहरीले एक आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाबाट रु एघार लाख ५० हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम उलङ्घन गर्ने एक हजार ९३२ वटा सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व सङ्कलन भएको जनाइएको छ ।

यसैबीच, ट्राफिक प्रहरी खोटाङले दशैँ, तिहार र छट पर्वमा आवतजावत गर्ने सर्वसाधारणको सहजताका लागि सवारी चेकजाँचलाई कडाइ गरेको छ । चाड पर्वको समयमा मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्दा हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न चेकजाँचलाई कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया