चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न रावाबेँसीमा दरभाउ निर्धारण

Halesi Khabar

खोटाङ, ५ कात्तिक । चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । हिन्दु नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छट पर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण भोलि (बिहीबार)देखि नै लागू हुनेगरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको दरभाउ निर्धारण गरेको हो ।

गाउँ कार्यपालिकाको आज (बुधबार) बसेको बैठकले खसी तथा स्थानीय जातको कुखुराको मासु प्रति केजी रु ७००, राँगाको मासु प्रति केजी रु ३५०, सुँगुरको मासु प्रति केजी रु २४०, ब्रोइलर कुखुराको मासु प्रति केजी रु ३००, गिरिराज कुखुराको मासु प्रति केजी रु ६०० र माछा स्थानीय खोला तथा पोखरीको प्रति केजी रु ५०० निर्धारण गरेको छ । यस्तै, स्थानीय जातको चामल (बास्मती लामो) प्रति केजी रु १००, स्थानीय जातकै (छोटो) चामल प्रति केजी रु ७५, वर्षे धानको चामल प्रति केजी रु ७०, बाहिरी जिल्लाबाट ल्याइएको जिरा मन्सुली चामल प्रति केजी रु ७५, सोना मन्सुली चालम प्रति केजी रु ५० र कान्छी मन्सुली चामल प्रति केजी रु ४५ निर्धारण गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिनुभयो ।

गाउँपालिका प्रमुख निरौलाका अनुसार स्थानीय जातको कालो दाल प्रति केजी रु १५०, सेतो मास प्रति केजी रु १००, मुसुरी दाल प्रति केजी रु १४०, तोरीको खाने तेला प्रति लिटर रु १९०, सुर्यमुखी तेल प्रति लिटर रु १८०, आयोडिनयुक्त नुन प्रति केजी रु ३० र ढिके नुन प्रति केजी रु २० निर्धाण गरिएको छ । गाउँ कार्यपालिकाको बैठकले निर्धारण गरेको मुल्यमा व्यापारीहरुले आफ्नो सामान बिक्री गरेनगरेको बारेमा अनुगमन समितिले छड्के निरीक्षण गर्ने बढी मुल्य लिएको पाएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा चाडपर्व भित्रिएसँगै व्यापारीहरुले कालोबजारी शुरु गरेको गुनासाहरु आएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यसअघि सरकारले लागू गरेको बन्दाबन्दीको कारण देखाउँदै व्यापारीहरुले मुल्य वृद्धि गरेको उपभोक्ताको गुनासो छ ।

जिल्लामा हुने कालोबजारी नियन्त्रण गर्न मातहतका प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यदि कोहि कसैले कुनै पनि बहानामा कालोबारी गरेर उपभोक्ता ठग्न खोजेमा तुरुन्त प्रहरीको १०० हटलाइन सेवामा सम्पर्क गर्नसमेत जिल्लाबासीलाई आग्रह गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया