महिला बालबालिका पुनः स्थापना केन्द्रको भवन उद्घाटन

Halesi Khabar

खोटाङ, ५ कात्तिक । महिला बालबालिका पुनःस्थापना केन्द्र खोटाङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । केन्द्रको प्रथम साधारणसभाको अवसर पारेर आयोजित कार्यक्रममा भवन उद्घाटन गर्नुका साथै भवन निर्माणका लागि निःशुल्क जग्गा उपदब्ध गराउने जग्गादातालाई सम्मानसमेत गरिएको छ ।

आर्थिक वर्ष २०६९÷०७० सालदेखि निर्माण शुरु गरिएको तीन कोठा भएको एकतले पक्की भवन प्रतिनिधिसभा सदस्य हिरा गुरुङले मङ्गलबार रिबन काटेर उद्घाटन गर्नुभएको थियो । स्थानीय विकास मन्त्रालयको रु छ लाख, तत्कालीन जिल्ला विकास समितिको रु तीन लाख, प्रदेशसभा सदस्य उषाकला राईको संसदीय विकास कोषको रु पाँच लाख, चन्दा सङ्कलनबाट जम्मा भएको रु ६२ हजार लगायतको खर्चमा पुनः स्थापना केन्द्रको भवन निर्माण गरिएको हो ।

भवन निर्माणका क्रममा करीब रु २२ लाखभन्दा बढी खर्च हुँदा रु छ लाखको हाराहारीमा ऋण परेको केन्द्रकी अध्यक्ष पूर्णमायाँ तामाङले जानकारी दिनुभयो । कृषिविज्ञ मदन राईले दिक्तेलको रत्नपार्कस्थित किराँतचोकभन्दा माथि निःशुल्क जग्गा उपलब्ध गराउनुभएपछि पुनः स्थापना केन्द्रको भवन निर्माण गरिएको हो ।

कार्यक्रमको अवसरमा केन्द्रको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने जग्गादाता राईलाई सम्मान गरिएको छ । जग्गादाता राईलाई प्रतिनिधिसभा सदस्य गुरुङले दोसल्ला ओढाएर र सम्मान–पत्रसहित सम्मान गर्नुभएको हो ।

साधारणसभाले महिला बालबालिका पुनः स्थापना केन्द्रको एक तले भवनमा तला थप गर्ने र घेराबारा गर्ने, हिंसा पीडित महिलालाई पुनः स्थापना गर्ने, मनोसामाजिक परामर्श तालिम सञ्चालन गर्ने, पीडित महिलालाई आयआर्जन गर्न सक्ने सीप सिकाउने लगायतका भावी योजना तय गरेको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गुरुङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, जिल्लास्थित दशवटै स्थानीय उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया