ओली–प्रचण्ड भेटवार्ता : कर्णालीको समस्या स्थानीयस्तरबाटै मिलाउन पहल

Halesi Khabar

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीको कर्णाली प्रदेशमा देखिएको विवादका विषयमा छलफल भएको छ ।

कर्णालीको समस्या त्यहीँको पार्टी र सरकारले नै समाधान गर्नेगरी छलफल भए पनि ठोस निष्कर्ष भने ननिस्किएको स्रोतको जनाएको छ । भेटवार्तामा कार्यकारी अध्यक्ष प्रचण्डले कर्णालीको समस्या त्यहीँको पार्टी र सरकारले समाधान गर्नुपर्ने बताउनुभयो ।

अध्यक्षद्वयबीचको छलफल निष्कर्षमा नपुगेपछि कर्णालीबाट काठमाडौँ आएका नेताहरु भने फर्किन पाएका छैनन् । उनीहरु अध्यक्षद्वयको निर्देशन कुरेर काठमाडौँमै बसेका छन् ।

कर्णालीबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सहइन्चार्ज यामलाल कंडेल, प्रकाश ज्वाला, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मासहितका नेताहरु काठमाडौँमा छन् । मुख्यमन्त्री शाहीविरुद्ध प्रधानमन्त्री ओली निकट कंडेल नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएपछि समस्या समाधान गर्न अध्यक्षद्वयले पार्टी पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौँ बोलाएका हुन् ।

मुख्यमन्त्री शाहीले पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरलाई मिलाएर आफूमा बहुमत सावित गरिसक्नुभएको छ । मुख्यमन्त्री शाहीले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव कातिक ७ गते फेस गर्ने तयारी भएको छ ।

तपाईको प्रतिक्रिया