आलोचना सुन्न नसक्ने नेतृत्वको शासन पनि टिक्दैन

Halesi Khabar

Bhim

–भीम राई
समाज बदलिन समाजका अगुवाहरुको सोच प्रगतिशील हुन जरुरी छ । जबसम्म समाजका अगुवाहरुको सोचमा परिवर्तनको सङ्केत देखिदैन यो समाज यथास्थिति मै रहन्छ । देशको रुपान्तरण चाहानेहरुले समाजका अगुवाहरु छनोट गर्दा अग्रगामी विचार भएका व्यक्तिहरुलाई अगाडि बढाउनु पर्दछ ।

हामीले हामीलाई नै शासन गर्ने व्यक्ति कस्तो बनाउने भन्ने विषयमा सोच विचार नै नगरी अगाडि बढ्दा पनि समाज रुपान्तरणको विषय पछाडि धकेलिने गरेको छ । समाज रुपान्तरणको कुरामा सबैभन्दा बढी जिम्मेवार सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुको विचारमा आधारित हुने गर्दछ ।

सार्वजनिक पदधारण गर्ने व्यक्ति चाहे त्यो प्रशासनिक होस या राजनीतिक । अग्रगामी चिन्तन बिनाको शासकले शासन ठीक ढङ्गले चलाउन सक्तैन । उसको सर्वत्र आलोचना हुने गर्दछ । आलोचनाले उनलाई सिध्याउन पनि सक्छ र सुधार्न पनि सक्छ । शासकको इच्छा र मर्जिमा सबै कुराको सिर्जना हुने गर्दछ ।

हतारमा निर्णय गर्ने र फुुर्सदमा पछुताउने भनेको जनता नै हुन । किन भने उनीहरुले समाजको अगुवा बनाएर जसलाई अधिकार सम्पन्न बनाउँछन् । उनीहरुले नै सर्वसाधरणलाई कज्याउने गर्दछन् । जबसम्म राजनीतिक भ¥याङबाट सार्वजनिक पद र सत्ता भन्ने चिजसम्म पुग्छन् उनीहरुले आफ्नो धरातल भुल्ने गर्दछन् ।

जुन धरातलको सम्झना गर्न नेपालको सन्दर्भमा पाँच वर्ष लाग्छ । त्यसबेला फेरि निर्वाचन आएको हुन्छ । अहिले खोटाङमा केहि जनप्रतिनिधिहरुलाई समेत यो रोगले छोएको छ । उनीहरुलाई जनताले गरेको आलोचना मन पर्न छाडेको छ । जनचासोको विषयलाई उनीहरुले आफ्नो मित्र मण्डलीको आड भरोसामा बेवास्ता गर्न थालेका छन् ।

आफ्नै वरिपरी घुमेर फेरो लाउनेहरुको कुरामा होमा हो भन्ने बानी नै परिसकेको छ । कोहि कसैले सुधारका लागि स्वस्थ आलोचना ग¥यो भने उनीहरुलाई ठूलो टाउको दुखाइको विषय बन्न पुग्छ ।

सामन्यतया ः सक्दा आलोचना गर्ने मित्रलाई सिध्याउने खेल शुरु हुन्छ । उनलाई सिध्याउन हर्कतहरु प्रस्तुत हुन्छन् । उनको स्थानबाट दिइने सेवा सुविधा र गर्न सकिने काममा बाधा पु¥याएर असफल बनाउने प्रयत्न गरिन्छ । यो नमिठो खेलको कारण आज समाजले सामाजिक हिसाबले फड्को मार्न सकेको छैन ।
जब नेतृत्वले आलोचना सुन्न सक्दैन भने उसको शासन र शासकीयपन दुवै टिक्दैन । यो त शासकका लागि आत्मरती रमाउनु मात्र हो भन्ने कुरासमेत उनीहरुलाई हेक्का रहँदैन । समाजलाई पछाडि पार्ने यी नै तत्वहरु हुन् ।

अर्को कुरा समाजलाई अगाडि बढाउने नाममा सामाजिक द्धन्द्धको समेत यस्ता कुराले बढाउन सक्दछ । पछिल्लो समयमा देखिएको राजनीतिक चलखेलले पनि यी र यस्तै परिणाम दिन खोजे जस्तो भइरहेको छ । आफूलाई ठीक लागेको सबै ठीक अरुले गरेको सबै बेठिक भन्ने मानसिकताको कारण राजनीतिक दलका कार्यकर्ताहरु समेत अन्यौलमा परेका छन् ।

स्थानीय कार्यकर्ताहरु भने नेताको कुरा पर्खेर बस्दाबस्दा हैरान हुन्छन् । कार्यकर्ताहरुमा आलोचनात्मक चेतको विकास भएको छैन । भएको भएपनि नुन र गुनले थिचिएको छ । अहिले गाउँमा रहेका कुनै न कुनै युवा कोहि न कोहि राजनीतिक दलका कार्यकर्ता हुँ भन्ने नै छन् । जो सामान्य भन्दा सामान्य कामका लागि ठेक्का कुरेर बसिरहेका हुन्छन् ।

हुँदाहुँदा अवस्था कस्तोसम्म आइसक्यो भने कुनै निर्माण व्यवसायीले लिएको ठेक्काको उप ठेक्का लिने कमिशन लिने फेरि उप ठेक्का दिने जस्ता कामहरु पनि भइरहन्छन् । सानो भन्दा सानो काममा ठेक्का लिनु पर्ने कमिशन खानु पर्ने यदि यो पनि भएन भने उपभोक्ता समितिको अध्यक्ष बस्नै पर्ने उनीहरुको माग हुन्छ ।

यी माथिका काम पाउन उनीहरुले राजनीति बुझेपनि नबुझेपनि नेताको वरिपरी घुम्नै पर्छ । नेताको वरिपरि घुमेपछि उनीहरुले आसिरवाद स्वरुप पाउने काम होइन कमिशन हो । किन कि उनीहरुले काम भन्दा बढी दलाली गरिरहेका हुन्छन् ।

केहि समय अगाडि एउटा रमाइलो ठट्टाको विषय बनेको थियो दिक्तेल बजारमा । एक जना काँग्रेस हुँ भन्ने युवक काठमाडौँबाट खोटाङ आएका थिए । उनको श्रीमती कतै जागरिमा थिइन् । उनले श्रीमतीको सरुवा गर्नु थियो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नेकपाले जितेको नगरपालिका हो । सांसद पनि नेकपाकै भएपछि ती युवक बढो बिनम्रता पूर्वक कमरेड बन्ने भए । केहि युवक उद्यमी साथीहरुलाई उनले चाकडीसमेत बजाउन भ्याएछन् । उनले ती साथीहरुसँग निर्माण व्यवसायको काम पनि लिने र नेपाली काँग्रेस पार्टी पनि छाड्ने, नेकपामा प्रवेश गर्ने जस्ता कुराहरु गरेपछि । उनको काम फत्ते पनि भयो ।
उनले दुई÷तीन लाखको ठेक्का पनि लिए र केहि उद्यमी साथीहरुसँग नियमित उठबस पनि भयो । टेण्डरको लबिङ पनि राम्रै गरे । उनको श्रीमतीको सरुवा पनि भयो । त्यसपछि नेकपा छिरेको वर्षदिन नपुग्दै फेरि ती युवक काँग्रेस नै भएछन् ।

यो घटना सुनेपछि लाग्यो यो नै अहिलेको युवा पुस्ताको राजनीतिक बुझाइ हो । यसमा राजनीतिक दोषारोपण गर्न खोजिएको हैन । यो समग्र युवा चिन्तनको प्रतिनिधित्व मात्र गर्न खोजिएको हो । यस्तो किसिमको युवाको जमात अहिले हामीसँग समाजमा छ । हामीले यस्तै युवाको भर गरेर समाज रुपान्तरणको अपेक्षा गर्नु छ । तर के सम्भव छ ? हाम्रा समाजका अगुवा गर्ने नेतृत्वले अब सच्याइका लागि बहस गर्ने कि नगर्ने ?

समतामुलक समाजको परिकल्पना गर्ने छुवाछुत बचाइ राख्ने, शोषणरहित समाज निर्माण गर्ने भन्ने श्रम गरेर खाने बानीको विकास नगर्ने, समाजवादको सपना देखाउने पुँजीवादी हर्कत गराउने, यी सब फाल्तु कुरा किन ? के अझै हाम्रो समाजलाई १९ औँ शताब्दी तिरै राख्नलाई हो त ?

तपाईको प्रतिक्रिया