लागु औषध उद्योग सञ्चालक काँग्रेस नेतासहित दुई युवक पक्राउ

Halesi Khabar

खोटाङ, २९ असोज । लागु औषध उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका दुई युवक पक्राउ परेका छन् । गाँजा, सुर्ती र चुना प्रयोग गरेर लागु औषध उत्पादन गर्दै आएका बाहुनीडाँडास्थित बयाक्ताका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपाली गएराति उनीहरुले सञ्चालन गर्दै आएको उद्योगबाटै पक्राउ परेका हुन् ।

स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका टोलीले राई र नेपालीलाई उद्योगबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । “पक्राउ परेका राई र नेपालीले लागु औषध उद्योग सञ्चालन गरेर उत्पादित लागु औषध बिक्री वितरणसमेत गर्दै आएका रहेछन्”, उहाँले भन्नुभयो, “उद्योगबाटै पक्राउ परेका उनीहरु दुवै जनालाई लागु औषध उत्पादन तथा कारोवार सम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाढि बढाइएको छ ।”

पक्राउ परेका राई र नेपालीको उद्योगबाट सात केजी गाँजा, १५ बोरा प्याकिङ गरिएको भाले ब्राण्डको सुर्ती, दुई बोरा खुला सुर्ती, दुई बोरा चुना, एक बोरा लागु औषध प्याकिङ गर्ने प्लाष्टिक, एक थान लागु औषध बनाउने मेसिन, दुई बोरा लागु औषध प्याकिङ गरिएको प्याकेटमा टालिने स्टिकर, दुई थान फलामे दाउ र एक थान अचानो बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर बिहिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ परेका राई नेपाली काँग्रेस खोटाङ क्षेत्र नम्बर १ का क्षेत्रीय समिति सदस्यसमेत हुनुहुन्छ । विभिन्न व्यवसाय गर्दै आएका राई विरुद्ध यसअघि हलेसी बजारमा मरेको कुखुराको मासु बिक्री गरेको आरोप लागेको थियो ।

यसैबीच, जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश वडाका स्थानीय बासिन्दाले अवैध रुपमा गाँजा खेती गर्दै आएका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा अन्नबाली उत्पादन गर्न पानी अभाव भएपछि स्थानीय बासिन्दाले अवैध गाँजा खेती गर्दै आएका हुन् ।

स्थानीय बासिन्दाले अवैध रुपमा गर्दै आएका गाँजा खेती नष्ट गर्न प्रहरीले अभियान नै सञ्चालन गर्दै आएको छ । गत वर्ष ठूलो परिमाणमा गाँजा खेती नष्ट गरेको प्रहरीले यस वर्ष पनि उक्त अभियानलाई निरन्तरता दिएको छ ।

तपाईको प्रतिक्रिया