जबरजस्ती करणीका घटनालाई जनप्रतिनिधिले नै पैसामा मिलाउन खोजेपछि…

Halesi Khabar

खोटाङ, २८ असोज । ऐसेलुखर्क गाउँपालिकाकी १६ वर्षीया एक किशोरीमाथि भएको जबरजस्ती करणीका घटनालाई वडा सदस्यकै अगुवाइमा आर्थिक लेनदेन गरेर गाउँमै मिलापत्र गराउन खोजेको खुलासा भएको छ । स्थानीय एक युवकबाट किशोरीमाथि पटकपटक भएको जबरजस्ती करणीका घटनालाई वडा नम्बर–२ बाकाचोलका वडासदस्य जयकुमार तामाङ र स्थानीय युवक निरकाजी तामाङको अगुवाइमा पीडित पक्षलाई रु दुई लाख दिएर गाउँमै मिलाउने प्रयास गरेको खुलासा भएको हो ।

पीडित पक्षबाट गत असोज २ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परिसकेको घटनालाई आर्थिक लेनदेनमा मिलाउने खेलमा आफ्नै वडा सदस्य लागी परेको वडाध्यक्ष सन्तवीर तामाङले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “जबरजस्ती करणीका घटनालाई पैसामा मिलाइ दिने भन्दै लेनदेनको विषयमा गरिएको फोन रेकर्ड बाहिरिएको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “यस विषयमा वडासदस्यकै नाम जोडिनु झनै दुःखद विषय हो । जघन्य अपराधका दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउनुको साटो जनप्रतिनिधिकै संलग्नतामा दोषीसँग पैसाको मोलमोलाई गरेर पीडितलाई झन् पीडा दिनेतर्फ लाग्नु खेदजनक छ ।”

किशोरीमाथि जबरजस्ती करणी गरेको भनिएका युवकसँग गरिएको पाँच मिनेट र १४ मिनेटको दुई वटा फोन सम्बाद बाहिर आएको छ । दुई पक्षबीच मोबाइलमा दोहोरो सम्बाद भएको अडियोमा उक्त जबरजस्ती करणीका घटनालाई गाउँमै मिलाउन रु दुई लाख व्यवस्था गर्न आरोपित युवकसँग प्रस्ताव गरिएको छ ।

युवकले गत भदौ १२ गते किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै पीडकविरुद्ध यहि असोज २ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा पीडित पक्षको जाहेरी परेको थियो । यसबीचमा गाउँमा उक्त जबरजस्ती करणीका घटनालाई पैसामा मिलाउन ठूलो कसरत भएको स्थानीय बासिन्दाले बताएका छन् ।

ऐसेलुखर्कमा भएको जबरजस्ती करणीका घटनामा आरोपित भनिएका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनुभएको छ । “आरोपितले किशोरीमाथि पटकपटक करणी गरेको पीडित पक्षले दिएको जाहेरी उल्लेख छ”, उहाँले भन्नुभयो, “प्रहरीमा जाहेरी परेपछि आरोपित युवक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ ।”

आरोपित फरार भएपछि उनका बुबाले खोजीका लागि वडा कार्यालयमा निवेदन दिएको वडाध्यक्ष तामाङले बताउनुभएको छ । गत असोज २३ गते वडा कार्यालयमा बोलाइएको पीडित र पीडक पक्षको भेलामा पीडक युवकका बुबाले घटनालाई लेनदेनमा मिलाउन रकम व्यवस्था गर्न वडासदस्यले नै भनेको विज्ञप्तिमा दाबी गरिएको छ ।

वडासदस्य तामाङले भने उक्त जबरजस्ती करणीका घटनालाई मिलाउने कार्यमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ । “पीडितलाई न्याय दिलाउन ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कसम्म पीडितलाई पु¥याउन सहयोग गरेको छु”, उहाँले भन्नुभयो, “पुरानो रिसइवि साँधेर मेरो बदनाम गराउन ममाथि झुटो आरोप लगाइएको हो ।”

किशोरीमाथि भएको जबरजस्ती बलात्कारको घटनालाई पैसामा मिलाउन निरकाजीले आरोपित युवकसँग फोनमा कुराकानी गरेको स्रोतको दाबी छ । सो कुराकानीमा उक्त बलात्कारको घटनालाई मिलाउन पीडित पक्षलाई पहिलो चरणमा रु दुई लाख दिने र अपुग भए पछि दिनेगरी कुरा मिलाउने भनिएको छ ।

वडाध्यक्ष सन्तवीर र वडासदस्य जयकुमार एउटै पार्टी नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । किशोरीमाथि भएको जबरजस्ती करणीका घटनामा आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्ष र सदस्यबीच आरोपप्रत्यारोप शुरु भएपछि नेपाली काँग्रेस खोटाङभित्रसमेत हलचल शुरु भएको छ ।

तपाईको प्रतिक्रिया