अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा हलेसी विकास मञ्चद्धारा भर्चुअल अन्तरक्रिया

Halesi Khabar

खोटाङ, २६ असोज । अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०२० को सन्दर्भमा हलेसी विकास मञ्चले आयोजना गरेको अनलाईन÷भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा हलेसी विकास मञ्च नेपालद्वारा सञ्चालित महिला प्रजनन अधिकार कार्यक्रम (WRRP)ले सोमबार आयोजना गरेको ‘वर्तमान अवस्थामा बालिकाहरुको समस्या÷चुनौती र व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

‘मेरो आवाज, हाम्रो समान भविष्य’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा रावाबँेसी गाउँपालिकाका प्रमुख लीलानाथ निरौला, उपप्रमुख समला राई, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, वडा अध्यक्षहरु, वातावरणीय कृषि तथा विकास केन्द्र (केड) कार्यकारी निर्देशक समिता प्रधान, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राई, रावाबेँसी गाउँपालिकाका विषयगत शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक लगायत विद्यालयका किशोरीहरुको उपस्थिति रहेको थियो ।

हलेसी विकास मञ्चका अध्यक्ष सम्मरबहादुर भुजेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बालिकाहरुको वर्तमान अवस्था र आगामी बाटोको बारेमा केड खोटाङका कार्यक्रम संयोजक लोचन श्रेष्ठले प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा देउराली मावि डुम्रेधारापानीमा अध्ययनरत किशोरी विनुकला श्रेष्ठले अहिलेको अवस्थामा पनि विभिन्न ठाउँहरुमा बालिकाहरुको हत्या, हिंसा, बलात्कार, बाल विवाह भएपनि वडा तथा सरोकारवाला निकायले चासो नदेखाएको गुनासो गर्नुभयो ।

गंगोदय मावि दुवेकोलमा अध्ययनरत किशोरी सञ्जु राईले बाल विवाहको कारण किशोरीहरुमा नकारात्मक असर परि रहेको र बालिका तथा किशोरीहरुमा हुने उक्त समस्या न्यूनीकरण गर्न स्थानीय सरकारले उचित कदम चाल्नु पर्ने बताउनुभयो । गंगोदय माविमै अध्ययनरत किशोरी सुमिक्षा निरौलाले समाजको रुडीबादी सोचाइ तथा विद्यालयमा सेनिटरी प्यड, शौचालय तथा पानीको उचित व्यवस्थापन हुन नसकेको बताउनुभयो ।

रावाबेँसी गाउँपालिका शिक्षा शाखा प्रमुख तीर्थराज दाहालले बालिका तथा किशोरीहरुको समस्याको उचित व्यवस्थापनको लागि नेपालको संविधान २०७२ को धारा ३८ र ३९ लाई सबैले अक्षरस पालना गर्नुपर्ने धारणा राख्नुभएको हलेसी विकास मञ्चका कार्यक्रम संयोजक वीरेन्द्र मगरले जानकारी दिनुभयो । । कार्यक्रममा गाउँपालिका प्रमुख, उपप्रमुख, केडका कार्यकारी निर्देशक र रावाबेँसी गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुखले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया