गाउँपालिका प्रमुखले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा हस्तक्षेप ग¥यो ः सञ्चालक समिति

Halesi Khabar

खोटाङ, २५ असोज । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले राजनीतिक प्रतिशोधले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सुन्तला ब्लकको कार्यक्रममा ठाडो हस्तक्षेप गरेको सञ्चालक समितिले आरोप लगाएका छन् । सङ्घीय सरकारमार्फत कृषि ज्ञान केन्द्र खोटाङले उक्त गाउँपालिकाको तीन वडामा लागू गरेको सुन्तला ब्लक कार्यक्रममा गाउँपालिका प्रमुख राईले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर गुण्डागर्दी शैलिमा हस्तक्षेप गरेको समितिले आरोप लगाएको हो ।

गाउँपालिका प्रमुख राईले योजना सञ्चालन भइरहेको अवस्थामा अन्यौलता सिर्जना गर्ने उद्देश्यकासाथ सञ्चालक समितिमाथि आर्थिक अनियमितता गरेको भन्दै झुटो आरोप लगाएर प्रचारबाजी गर्ने घृणित काम गरेकोप्रति आफूहरुको घोर आपत्ति रहेको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीकुमार राई र सचिव मनोज राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । परियोजना सञ्चालन सम्बन्धी निर्देशिका अनुसार काम गरिरहेको अवस्थामा गाउँपालिका प्रमुख राईले राजनीतिक प्रतिशोधले आफूहरुमाथि विभिन्न बहाना बनाएर आधारहिन आरोप लगाउँदै आफू अनुकुलको सञ्चारमाध्यमलाई प्रयोग गरेर झुटो समाचार प्रकाशन तथा प्रशारण गर्न लगाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सुन्तला ब्लक कार्यक्रममा अहिलेसम्म कुनै पनि अनियमितता नभएको र १५ वटा कृषक समूहलाई सुन्तलाको बिरुवा तथा १३ वटा कृषक समूहलाई आवश्यक सामग्री ढुवानी गरेर वितरण गरिएको समितिले शनिबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलन दाबी गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्ययोजना अन्तरगत नै सुन्तलाको बिरुवा, पाइप, पोखरी निर्माणका लागि प्लाष्टिक, स्पे्रयर, हजारी, सिकेचर, प्रुनिङ्स, बोर्डो मिश्रण, होर्डिङबोर्ड, मल लगायतका सागग्री खरिद गरेर कृषक समूहमा आवद्ध किसानलाई वितरण गरिएको विज्ञप्तिमा भनिएको छ ।

“गाउँपालिका प्रमुखकै पक्षमा लागेर सञ्चारमाध्यमले झुटो समाचार लेखेर आमसमुदायमा अफवाह फैलाउने काम गरेकोप्रति हाम्रो घोर आपत्ति छ”, अध्यक्ष र सचिवको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, “अर्थहीन र झुटो समाचार प्रकाशन तथा प्रशारण गर्ने मिडिया हाउसलाई यथोचित कानूनी दायरामा ल्याउन माग गर्दछौँ ।”

“गाउँपालिका प्रमुख जस्तो उच्च ओहदामा बसेको व्यक्तिले हुँदै नभएको कुरामा अफवाह फौलाउनु आफैमा घृणित कार्य हो”, सञ्चालक समितिले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आफूहरुमाथि लगाइएको आर्थिक हिनामिनाको आरोप पुष्टि गर्नसमेत गाउँपालिका प्रमुख राईलाई यसै विज्ञप्तिमार्फत चेतावनी दिन्छौँ ।”

सात वडा रहेको उक्त गाउँपालिकामा सङ्घीय सरकारमार्फत कृषि ज्ञान केन्द्र खोटाङले आर्थिक वर्ष २०७६÷०७७ मा सन्तला ब्लक कार्यक्रम अन्तरगत रु २८ लाख ८१ रकम लगानी गरेको छ । कृषक समूहले ५० प्रतिशत जनश्रमबाट व्यहोर्नेगरी वडा नम्बर–१ याम्खा, वडा नम्बर–२ डाँडागाउँ र वडा नम्बर–३ छोरम्बुमा रु ५६ लाख १६२ बराबरको योजना सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया