अरिङ्गालको टोकाइबाट घाइते युवकको उपचारको क्रममा मृत्यु

Halesi Khabar

खोटाङ, २५ असोज । अरिङ्गालको टोकाइबाट गम्भीर घाइले बनेका खोटाङका एक युवकको उपचारको क्रममा आज (आइतबार) मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

अरिङ्गालले टोकेपछि उद्दार गरेर बेहोस अवस्थामा उपचारका लागि अस्पताल ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिनुभयो । घाँस÷दाउरा गर्न जङ्गल गएका राईलाई शनिबार दिउँसो करीब चार बजेको समयमा रुखमा गोला भएको अरिङ्गालले टोकेर घाइते बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।

शरीरको विभिन्न भागमा अरिङ्गालले टोकेर गम्भीर घाइते बनेका राईलाई स्थानीय बासिन्दाले बेहोस अवस्थामा फेला पारेर उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए । उपचारको क्रममा ज्यान गुमाएका राईको शव परीक्षणपछि दाहसँस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया