बस्तीको दुवैतिरबाट पहिरो झरेपछि ऐसेलुखर्कका ११ घर जोखिममा

Halesi Khabar

खोटाङ, ८ असोज । पहिरोका कारण ऐसेलुखर्क गाउँपालिकाका ११ घर परिवार जोखिममा परेका छन् । असोज २ गतेको भारी वर्षाका कारण पहिरो जान थालेपछि वडा नम्बर–४ जलेश्वरीका ११ घर स्थानीय बासिन्दा जोखिममा परेका हुन् ।

जलेश्वरीस्थित मावाका बस्तीभन्दा तलबाट शुरु भएको पहिरोले स्थानीय बासिन्दाको घर जोखिममा परेपछि उक्त बस्ती नै उठाउनुपर्ने अवस्था आएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । “गाउँभन्दा माथि र तलबाट खनिएको सडकबाट पहिरो शुरु भएपछि छ”, उहाँले भन्नुभयो, “बस्तीको दुवैतिरबाट शुरु भएको पहिरोले जोखिम बढाएपछि उक्त बस्ती नै उठाउनुपर्ने अवस्था आएको हो ।”

बस्तीभन्दा तल खनिएको सडकको भित्ताबाट पहिरो शुरु हुँदा माथिल्लो क्षेत्रका बस्ती जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् । पहिरोभन्दा माथिका दिलबहादुर राई, टेकबहादुर राई र एकल महिला जुनकिरी राईको घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष नैनकुमार राईले बताउनुभएको छ ।

पहिरोले उक्त तीन घरसँगै स्थानीय लालबहादु राई, पर्शुराम राई, पूर्णबहादुर राई, मनकुमार राई, मुगाधन राई, प्रेमबहादुर राई, अम्वीर राई र नैनकुमार राईको घरसमेत जोखिममा पारेको जनाइएको छ । पहिरो नरोकिए उनीहरुको घरभन्दा माथि रहेको घरसमेत क्रमशः जोखिममा पर्ने खतरा देखिएको छ ।

पहिरोको कारण वि.सं. २०७२ सालको भूकम्पपछि सो स्थानमा पलाएको पानीको मुहानसमेत सुकेको स्थानीय बासिन्दाले बताएका छन् । हाल पाखा लच्किँदै क्रमशः पहिरोका रुपमा खस्ने क्रम जारी रहेको बताइएको छ ।

बस्तीभन्दा माथिको पहिरो गत वर्ष जाली सहितको पर्खाल हालेर नियन्त्रण गर्ने प्रयास गरिएपनि नरोकिएको वडाध्यक्ष राईले बताउनुभयो । दुवैतिरबाट पहिरो झर्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

यस्तै, पहिरोका कारण हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक पूर्णरुपमा अवरुद्ध भएको छ । केहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण उक्त सडक खण्ड अन्तरगत वडा नम्बर–७ माक्पाको भदौरेमा पहिरो खस्दा असोज २ गतेदेखि यातायात अवरुद्ध भएको छ ।

सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो । पहिरोले सडक अवरुद्ध भएपछि यातायातका साधन यताको यतै र उताको उतै रोकिएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा केहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो झर्दा ग्रामिण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोले अवरुद्ध ग्रामिण सडक खुलाउन सम्बन्धित स्थानीय तह र यातायात व्यवसायीले संयुक्त रुपमा पहल गरिएका छन् ।

वर्षाका कारण यस वर्ष देशभर ठूलो मात्रामा जनधनको क्षति भएपनि खोटाङमा अहिलेसम्म मानवीय क्षति भने नभएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । “ऐसेलुखर्कमा बस्ती जोखिममा परेको खबर प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले पुग्न सकिएको छैन ।”

वर्षादका कारण जिल्लामा हुन सक्ने विपत्तिमा परेकालाई तत्काल उद्दार गर्न नेपाली सेना, सशस्त्र तथा जनपद प्रहरीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ । यसअघि रावाबेँसी गाउँपालिकाको कुभिण्डेमा गएको पहिरोले सयौँ रोपनी खेतबारीमा लगाइएको बन्नबालीमा क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया