गाउँमा विद्युत पुगेपछि वाप्लुखाका उपभोक्ताले मनाए खुशीयाली

Halesi Khabar

खोटाङ, ५ असोज । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकाले विनियोजन गरेको रु ७५ लाख र नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको रु एक करोड बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गरिएको हो ।

देशमा सङ्घीयता लागू भएर स्थानीय तह कार्यान्वयनमा आएसँगै केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारको कामलाई तीव्रता दिएको उक्त गाउँपालिकाले वाप्लुखाको सुम्लेखा र काम्दाखाका ८० घर स्थानीय बासिन्दाको घरमा विद्युत विस्तार गरेको छ । ४२५ घरधुरी स्थानीय बासिन्दाको बसोबास रहेको वाप्लुखाका अन्य टोलमा पनि विद्युतीकरणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष दिपेन थुलुङले बताउनुभयो ।

आफ्नो गाउँमा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएपछि वाप्लुखाका स्थानीय बासिन्दाले साँस्कृतिक झाँकीसहित खुशीयाली मनाएका छन् । लामो समयसम्म अन्धकारमा बस्दै आएका उनीहरुले आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर भोजभतेरसहित खुशीयाली मनाएका हुन् ।

वाप्लुखामा विस्तार गरिएको केन्द्रीय प्रशारण लाइनको विद्युत परीक्षण सफल भएपछि गाउँपालिका प्रमुख प्रदिपकुमार राई र उपप्रमुख कविता राईले रिवन काटेर औपचारिक उद्घाटन गर्नुभएको थियो । किराँत राई समुदायको साँस्कृतिक झाँकी साकेला सिलीसहित आयोजना गरिएको कार्यक्रममा गाउँपालिका प्रमुख र उपप्रमुखले समेत स्थानीय उपभोक्तासँगै खुशीयाली मनाएका छन् ।

गाउँपालिकाले हाल केन्द्रीय प्रशारण लाइनको विद्युतको पहुँच पुग्न बाँकी तीन वडामा विद्युतीकरणको कामलाई तीव्रता दिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । नौँ वडा रहेको उक्त गाउँपालिकाको वडा नम्बर–१ लिकुवापोखरीलाई मात्र विद्युतले छुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

छिमेकी जिल्ला भोजपुरसँग सिमाना जोडिएको लिकुवापोखरीको सिमासम्म मेनलाइन विद्युत विस्तार भइसकेको जनाइएको छ । वडा नम्बर–३ सावाकटहरेमा पनि मेनलाईनमा विद्युत बलिसकेको गाउँपालिकाले जनाएको छ ।

आगामी आर्थिक वर्ष सबै वडामा विद्युत विस्तारको कामलाई पुरा गर्नेगरी चालु आर्थिक वर्ष रु एक करोड बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “हामी निर्वाचित भएको बेला खोटाङबजार, सिम्पानी, लिच्कीराम्चे र चिप्रिङमा विद्युतको मेनलाइन मात्र विस्तार भएको अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले ४ देखि ९ वडाका ९५ प्रतिशत घरमा विद्युत पुगिसकेको छ । बाँकी रहेको लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामलाई तीव्रता दिएका छौँ ।”

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उक्त गाउँपालिकामा हालसम्म वडा नम्बर–४ बड्कादियाले, वडा नम्बर–५ चिप्रिङ, वडा नम्बर–६ ईन्द्रेणीपोखरी, वडा नम्बर–७ खोटाङबजार, वडा नम्बर–८ सिम्पानी र वडा नम्बर–९ लिच्कीराम्चेमा ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत पुगिसकेको छ । दश स्थानीय तह रहेको जिल्लामा हाल १६ हजार १९४ घर विद्युत उपभोक्ता रहेका छन् ।

बुइपा सव–स्टेशनमार्फत वितरण गरिने केन्द्रीय प्रशारण लाइनको विद्युत खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुगरि तीन जिल्लामा खपत हुने गरेको छ । ठेकेदार कम्पनीले ११ केभी प्रशारण लाइनको विद्युतपोल तथा तारमा ३३ केभी क्षमता थपेपछि दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाइनको विद्युत पटकपटक अवरुद्ध हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया