पगरीको बोझले निहुरिएको शिर

Halesi Khabar

–भीम राई
पगरी अर्थात फेटा आदिवासी जनजाति समुदायमा रहेको एउटा शिर उच्च बनाउन दिइने सम्मानको प्रतिबिम्ब हो । खास गरेर कसैले उच्च सम्मान गर्न पर्दा साँस्कृतिक हिसाबले यो काम गरिन्छ । कुनैपनि शुभ कार्यहरु गर्दा विशेष पाहुना तथा मुलमान्छेलाई यस्तो पगरी गुथाइन्छ ।

साँस्कृतिक हिसाबले गाउँघरमा पगरी लगाएपछि जिम्मेवारी पनि उस्तै प्रकृतिको दिइने चलन रहेको छ । विहेबटुलमा पगरी गुथाइएका व्यक्ति सो कार्यभरीको मुल नेतृत्वकर्ता रहन्छन् । जिम्मेवारीका साथ गुथाइएको फेटा कार्य नसकेसम्म खोल्न पाइन्न । यो निकै पुरानो चलन हो । जसले जिम्मेवारी बोध गराउँछ ।

विश्वासनीयताको प्रतिकका रुपमा यसलाई लिइन्छ पनि । तर, बिढम्बना पगरी पनि धेरै गुथ्न खोजेमा कहिले कँहि शिर निहुरन सक्छ । पगरीको बोझले शिर झुकिसकेपछि अरु के हुन्छ होला । फेरि त्यो पगरी गुथ्न सकिने ठाउँमा पुग्न वा पर्न सकिन्न यो सामाजिक यथार्त हो ।

वास्तवमा यतिबेला खोटाङ जिल्लाको दशवटा स्थानीय तहका प्रमुखहरुले पनि पगरी गुथेका छन् । उनीहरुले गुथेको पगरी पनि हाम्रो समाजमा गुथाइएका पगरी जस्तै हुँदो हो । जसले सिङ्गो आफ्नो पालिकाभित्रको नेतृत्व लिनु छ । उनीहरुको जिम्मेवारी पाँच वर्षको लागि हो । यसमध्ये ५ जना पगरीवालाहरु अलि उमेरले अलि अगाडि छन् ।

उनीहरुको कार्यअनुभव पनि छ । कोही नेपाल सरकारको जागिर गरेर पेन्सन खान थालेका, कोही लाहुरे जीवन सकेर पेन्सन खाँदै आएका कोही २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन गाविस अध्यक्ष भइसकेकाहरु छन् । उनीहरुले त्यसबेला बाँधेको पगरी निकै कुशलता पूर्वक सम्माहालेका कारण फेरि पगरी दिइएको हो ।

ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौला शिक्षण पेसाबाट सेवा निवृति पाएका व्यक्ति हुन् । यस्तै केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राई पूर्व बेलायती सेनाबाट पेन्सन पाइरहेका व्यक्ति हुन् । यस्तै जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिका प्रमुख शंकरबहादुर राई र प्रदिपकुमार राई पूर्व गाविस अध्यक्ष हुन् ।

रावाबँेसी गाउँपालिका प्रमुख लीलानाथ निरौला लामो समयदेखि राजनीतिमा लागेर आएका समाजसेवि व्यक्तिका रुपमा चिनिन्छन् । यता अरु दुई नगरपालिका र तीनवटा गाउँपालिकामा भने युवाहरुको प्रतिनिधित्व रहेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजाल राजनीति तथा एनजिओकर्मी हुन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई शिक्षण पेसाबाट राजनीतिमा आएका व्यक्ति हुन् । साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ जनयुद्ध लडेर आएका राजनीति कार्यकता हुन् ।

यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राई काँग्रेसको विद्यार्थी राजनीति गर्दै खोटाङ छिरेका युवा नेता हुन् । कुनै समय त्रिभुवन विश्व विद्यालयमा इतिहाँस विषयमा गोल्ड मेडलिस्टसमेत उनले हात पारेका थिए । यस्तै बराहापोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जरा नेपाली काँग्रेसको राजनीतिमा रहेका समाजसेवी युवा हुन् ।

यी माथिका भलभाँती परिचय दिइएन भने पगरी किन गुथाइयो भन्ने प्रश्नको उत्तर परिपक्व नहुने भएकाले लेखिएको हो । किन कि पगरी गुथ्नु एउटा कुरा हो तर, सब तहाका प्रमुखहरुले गुथेको पगरी फुकाउने बेलासम्म थाम्न सक्ने नसक्ने भन्ने कुराको निर्धारण उनीहरुको कार्यशैलीले देखाउन थालेको छ ।

कसैले टावर बनाएर कसैले ताल बनाएर त कसैले उपभोक्ता समितिको अध्यक्ष आफै बसेर थप पगरी गुथ्ने काम गरिरहेका छन् । जिल्लाको समग्र विकासकाबारेमा चिन्ता भन्दाबढी पगरीको चिन्ता गर्न थालेपछि यो समस्या आउने नै भयो ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई स्वयम् अनुगमन गर्ने निकायमा रहेका भएपनि उपभोक्ता समितिको अध्यक्षमा बसेर अर्को पगरी गुथिरहेका छन् । उनले त्यस क्षेत्रको खानेपानीको समस्याहल गर्नकै लागि भनेर सञ्चालन गर्न लागिएको बृहत खानेपानी पम्पिङ आयोजनाको अध्यक्षको पगरी बोकेर हिँडेका छन् ।

निकै ठूलो लगानीमा दूधकोशीको पानी हलेसी सुक्खा क्षेत्रमा ल्याउने गरी शुरु गरिएको आयोजना अझै केही वर्ष माछामाछा भ्यागुता कै अवस्थामा हुने लक्षण देखिएको त्यहाँका उपभोक्ताहरु बताउँछन् । अरु गाउँपालिका तथा नगरपालिकामा पनि यो समस्या बिकराल छ ।

एसेलुखर्क गाउँपालिकामा विद्युत विस्तारको योजना सञ्चालन भइरहेको छ । बिबाद नआउँदासम्म प्रमुखलाई कुनै जानकारी छैन भनेर सञ्चार माध्यममा बोल्छन् । त्यो पनि प्रमुखको आफ्नै वडामा विद्युत विस्तार भएको चाल नपाएको भन्ने कुराले लज्जाबोध हुन्छ । बिबाद नआउँदा आफैले गर्दा आएको भन्न पाउने अवस्थामा बित्तीय व्यवस्थापनसमेत सापटीका रुपमा पालिकाले लगानी गरेको कुरा खुलासा भएपछि पन्छिन खोजिन्छ । यो पनि पगरीकै लागि गरिएको होला तर, सतहमा कुरा आएपछि बचाउ गरिन्छ ।

केपिलासगढी पनि केही न केही पगरीको चाहानाले छोएको छ । विकासको नाममा भएका कामहरुको अनुगमन गर्न जाँदा पगरीले कहिले काँही भारी भएको महसुश हुन्छ । शुरुका चरणमा बाँढिएको योजनाका उपभोक्ता समितिहरु सकेसम्म आफ्नै नाताको वरीपरी घुमिरहेको पाइन्छ ।

गाउँपालिकाको भवन निर्माणाधीन अवस्थामा रहेको छ । त्यसमा उपभोक्ता समितिले कति बराबरको काम गर्नुपर्ने योजना कति सम्पन्न हुने भन्ने सार्वजनिक बोर्डसमेत राखिएको छैन । यसमा आफ्नै भतिजलाई उपभोक्ता समितिका अध्यक्ष बनाएर निर्माणको जिम्मा दिइएको छ ।

यी त सामन्य नमूनाहरु हुन यस्ता अन्य गाउँपालिकाको पनि थुप्रै छन् । कतै सामाजिक सुरक्षा भत्ता पाउनेहरुको लिष्ट अद्यावधिक नगरि रकम निकासा हुने गरेको, कहिँ सवारी साधन नहुँदा पनि सवारी चालक राखिएको ।

कहि राजनीतिक तथा कानूनी सल्लाहाकार भनेर नीतिमा नै नभएको पद सिर्जना गरिएको यस्ता थुप्रै कामहरु पगरी जोगाउनलाई गरिएको पाइएको छ । के अब यो पगरी जोगाउन थप पगरीनै गुथ्न खोजे एउटा टाउकोले धान्ला त ? प्रश्न उठेको छ । उत्तर खोजौँ ।

लेखक ः प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया