प्यारागनको आर्थिक कारोबार एक वर्षमै झण्डै दुई करोड

Halesi Khabar

खोटाङ, भदौ १४ । खोटाङको दिक्तेल बजारमा सञ्चालित प्यारागन बचत तथा ऋण सहकारी संस्थाले वर्ष दिनमा झण्डै रु दुई करोडको आर्थिक कारोबार गरेको छ । बचत गर्ने बानीको विकास गर्दै उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्ने वातावरण निर्माणका लागि २०६६ सालमा स्थापना गरिएको बचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७६÷०७७ मा रु एक करोड ९१ लाख ५३ हजार ६५५ बराबरको आर्थिक कारोवार गरेको हो ।

प्यारागन बचत तथा ऋण सहकारी संस्थाको आइतबार आयोजित वार्षिक साधारणसभामा सहकारीले गत आर्थिक वर्ष रु ८७ लाख ३७ हजार ऋण लगानी गर्दा रु तीन लाख ६४ हजार ३१ कुल नाफा आर्जन भएको जानकारी दिएको छ । सहकारीका लेखापाल मंगला खड्काले निक्षेप डिपोजिट र कर्जा बचततर्फ रु एक करोड दुई लाख ३८ हजार ६८० आम्दानी भएको, लगानीबाट रु पाँच लाख ८१ हजार ६९१ ब्याज आम्दानी भएको, निक्षेप डिपोजिट ब्याजतर्फ रु एक लाख ६० हजार ८३ खर्च भएको र रु २४ लाख २० हजार २६६ फिर्ता हुन बाँकी रहेको जानकारी दिनुभयो ।

यस्तै, हाल ३४ शेयर सदस्य रहेको सहकारीको रु ४० लाख ४ हजार ५२६ उठ्न बाँकी रहेको, बचत फिर्ताबाट रु ३८ लाख ५३ हजार ६२६ खर्च भएको सहकारीले जनाएको छ । दिक्तेलको पुरानो बेसक्याम्पस्थित सहकारीको कार्यालयमा भएको कार्यक्रम जिल्ला विकास समितिका पूर्वसभापति बिष्णुकुमार राईले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष एवम् ऋण प्रवाह समितिका संयोजक नइन्द्र राई, उपाध्यक्ष मिना कार्कीले सहकारीको गतिविधि र प्रगतिका बारेमा जानकारी दिनुभएको थियो । साधारणसभामा विशेष अतिथिकारुपमा दिक्तेल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हर्कबिर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंक श्रेष्ठ, सहकारीका सल्लाहकार संयोजक प्रकाश श्रेष्ठ, सल्लाहकार सदस्य दिनेश घिमिरे, सरस्वती उच्च माबिका सहायक प्रअ शिवहरि ढकाल, शेयर सदस्य काजीमान राई लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

२०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्ष दिनसम्म सञ्चालन गरेपछि निष्क्रिय रहेको प्यारागन सहकारी संस्थालाई पुनः २०७६ सालदेखि सञ्चालनमा ल्याइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया