ज्यान मार्ने उद्योगका दोषी २४ वर्षपछि पक्राउ, तीन महिलाका हत्यारा पत्ता लागेन

Halesi Khabar

खोटाङ, २९ साउन । ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैंद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । वि.सं. २०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको सिमानामा पर्ने बाहानेमा भएको ज्यान मार्ने उद्योगको घटनामा संलग्न दिप्सुङकै ५४ वर्षीय युवराज राईलाई इलाका प्रहरी कार्यालय बाक्सिलाले पक्राउ गरेको हो ।

जिल्ला अदालत खोटाङबाट वि.सं. २०६५ चैत ३ गते सात वर्ष कैंद सजाय हुने फैसला सुनाइएका राईलाई बुधबार साँझ दिप्सुङकै बिसुदु जङ्गलबाट प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो । अदालतबाट दोषी ठहरिएका राईलाई बिहिबार अदालतमा पेश गरिएकामा अदालतले तत्काल कैंद भुक्तानका लागि कारागार पठाउन निर्देशन दिएपछि कारागार चलान गरिएको प्रनाउ चिमोरियाले जानकारी दिनुभयो ।

फरार अभियुक्तको खोजतलास एवम् पक्राउ अभियानमा सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङले पछिल्लो दुई हप्तामा सवारी ज्यान मुद्दाका दुई जना र जबरजस्ती करणी मुद्दाका एकजना फरार दोषीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अदालतमा पेश गरिएलगत्तै तीनैजनालाई कैंद भुक्तानका लागि कारागार चलान गर्न अदालतले दिएको निर्देशन अनुसार कारागार पठाइएको जनाइएको छ ।

प्रहरीले फरार अभियुक्त पक्राउ अभियान चलाएपनि तीन महिलाको श्रृङ्खलावद्ध हत्या भएको लामो समय बितिसक्दासमेत तीन जनाकै हत्यारा अहिलेसम्म पत्ता लागेको छैन । वि.सं. २०७३ माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्कर्माको हत्यारा प्रहरीले पत्ता लगाउन नसकेको हो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरेपनि दोषी पत्ता लगाउन नसक्दा जिल्लामा प्रहरीको आलोभना भइरहेको छ । घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहेपनि पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठेको महिला अधिकारकर्मीहरुले बताएका छन् ।

सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव कुसेऔंशी जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ईलाका प्रहरी कार्यालय हलेसीभन्दा करिब पैदल पाँच मिनेटको दुरीमा ज्ञानीमायाँको हत्या भएको थियो । माइती घर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मरमुनी कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको थियो ।

महिलाहरुको श्रृङ्खलावद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीहरुले तत्काल दोषी पत्ता लगाएर कानूनी कठ्घरामा ल्याउन प्रहरीलाई दबाब दिइरहेका छन् । उनीहरुले पटक–पटक प्रहरी कार्यालयमा पुगेर घटनाको विषयमा जानकारी मागीरहेका छन् ।

घटनाका बारेमा खोटाङ्गे नेताको टोलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई गत भदौ १ गते भेटेर जानकारी गराउँदै कारबाहीको माग गरेका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका अध्यक्ष देवान किराती ‘पृथ्वी’को नेतृत्वमा गएको टोलीले गृहमन्त्री बादललाई उहाँको निवासमै भेटेर तत्काल हत्यारा पत्ता लगाएर कडाभन्दा कारवाही गर्न माग गरेका थिए ।

तपाईको प्रतिक्रिया