हावाहुरीले बालीनाली सखाप बनाउँदा करोडौँको क्षति

Halesi Khabar

खोटाङ, २२ साउन । गएराति चलेको हावाहुरीले खोटाङमा करोडौँको अन्नबालीमा क्षति पु¥याएको छ । पानीसँगै चलेको हावाहुरीले मकै, फलफूल तथा रुखबिरुवा ढाल्दा करोडौँ मुल्य बराबरको अन्नबालीमा क्षति पुगेको हो ।

बुधबार साँझदेखि रातभर चलेको हावाहुरीले सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा क्षति गरेको जनाइएको छ । पन्ध्र वडा रहेको नगरपालिकाको लेकाली भेगमा पर्ने वडा नम्बर–११ खार्मीमा सबैभन्दा बढी क्षति पुगेको हो ।

खार्मीको लेकाली भेगमा लगाइएको मकै धानचमर निस्कन लागेको अवस्थामा रहेकाले हावाहुरीले ढाल्दा ठूलो क्षति भएको स्थानीयबासी एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडा समिति अध्यक्ष हर्कराज राईले बताउनुभयो । “खार्मीको लेखगाउँ, बोहोरीबोट, फूलबिसौँना, रुयल, साब्रु, निगाँले लगायतका ठाउँमा ठूलो क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “प्रमुख बालीको रुपमा रहेको मकै उठाउँदासमेत फल नदिने भएकाले आगामी वर्ष खाद्यान्न अभाव हुने देखिएको छ ।”

नगरपालिकामा हावाहुरीले पु¥याएको क्षतिको विवरण आउन बाँकी रहेको नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो । “गएराति चलेको हावाहुरीले नगरपालिकाको सबै वडामा क्षति पु¥याएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “क्षतिको विवरण सङ्कलन गर्न वडावडामा प्राविधिक खटाइएको छ ।”

हावाहुरीले जिल्लाको दशवटै स्थानीय तहमा क्षति गरेपनि विवरण आउन बाँकी रहेको कृषि ज्ञानकेन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । “हावाहुरीले अन्नबालीसँगै फलफूलसमेत क्षति गरेको जानकारी आएको छ”, उहाँले भन्नुभयो, “हावाहुरीले पु¥याएको क्षतिको विवरण सङ्कलन गरेर कृषकलाई क्षतिपूर्ति दिालाउन प्रदेश तथा सङ्घमा पठाउने योजना बनाएका छौँ ।”

हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा रुख ढाल्दा बाटोसमेत अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् । हावाहुरीले ढालेको रुख हटाएर अवरुद्ध यातायात पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।

हावाहुरीले दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाइनको विद्युत पोल हावाहुरीले विभिन्न ठाउँमा ढाल्दा गएरातिदेखि विद्युतसमेत अवरुद्ध बनेको छ । अवरुद्ध विद्युत सञ्चालनमा ल्याउन प्राविधिक टोली खटाइएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया