शहीद मनोज जोशीको २९ औँ स्मृति दिवस ः विभिन्न कार्यक्रमगरी मनाइयो

Halesi Khabar

खोटाङ, १५ साउन । शहीद मनोज जोशीको हत्यकाण्ड भएको २९ वर्ष पूरा भएको छ । वि.सं. २०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेल बजारमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बन्नुभएका मनोज जोशीलाई प्रहरीले गोली हानेर हत्या गरेको थियो ।

दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’का रुपमा चिन्ने गरिन्छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिइएको बिरोधमा कर्मचारीको अगुवाइमा निकालिएको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीको गोली लागेको थियो ।

बिरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शी एवम् सत्तारुढ दल नेपाल कम्यु्निष्ट पार्टी (नेकपा)का नेता सुमन श्रेष्ठले बताउनुभयो । आन्दोलनका क्रममा हत्या गरिएका जोशीलाई सरकारले वि.सं. २०७४ माघ २२ गते शहीद घोषणा गरेको थियो ।

उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहारसमेत गरेका थिए । सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी १३ जना कर्मचारी जागिरबाट हटाइएका थिए ।

सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाउँदै आएको छ । दिक्तेलका बुबा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोरा मनोज वि.सं. २०३० असोज २३ गते जन्मनुभएको थियो ।

बास्तविक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी इन्द्रेणी साँस्कृतिक समाज तथा युवा सङ्गठनमा आवद्ध हुनुहुन्थ्यो । सामाजिक काममा क्रियाशील जोशी जिल्लाका एक कुशल खेलाडीका रुपमासमेत परिचित हुनुहुन्थ्यो ।

बिगतका वर्षहरुमा सप्ताहव्यापी रुपमा मनोजमार्ग सरसफाइ, अस्पतालका बिरामीलाई फलफूल वितरण, व्याटमिन्टन, चेस, कविता, गजल र हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रम गर्दै स्मृति दिवस मनाउने गरिएकामा यसपल्ट कोभिड–१९ का कारण बिहिबार जोशीको समाधिमा माल्यार्पण एवम् श्रद्धाञ्जलिसभा मात्र गरिएको छ । जोशीलाई शहीद घोषणा गर्ने माग पूरा भए पनि दोषीमाथि अझै कारबाही हुन बाँकी रहेको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताउनुभएको छ ।

श्रद्धाञ्जलिसभामा प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, काँग्रेस नेतृ डिल्लीकुमारी आचार्य, नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य ध्रुवकुमार कार्की लगायतले सम्बोधन गर्नुभएको छ । कार्यक्रममा शहीद मनोज जोशीकी आमा अम्बिका, संविधानसभा सदस्यहरु पाँचकर्ण राई ‘पिके’, दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, नेकपाका जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतले दिक्तेलस्थित शहीद मनोज जोशीको शालिकमा माल्यार्पण गरेका थिए ।

यसैबीच, निजामती कर्मचारीकारुपमा ४० वर्ष सेवा गरेर सेवा निवृत्त हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका श्यामकुमार शैंजूलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । वि.सं. २०३३ सालदेखि २०७३ सालसम्म निजामती सेवामा रहेर देश र जनताप्रति समर्पित भएकामा शैंजूलाई रु पाँच हजार राशिको ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरेको हो ।

स्मृति दिवसको अवसरमा बिहिबार दिक्तेलमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले शैंजूलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । निजामती सेवाको माध्यमबाट मात्र नभएर विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्व गर्दै ईमान्दारिता एवम् बफादारिताका साथ देश र समाजलाई दिएको योगदानको कदर स्वरुप शैंजूलाई पुरस्कृत गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया