गाउँ पसेको काँग्रेसलाई शुभकामना !

Halesi Khabar

–भीम राई
नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी संस्थाको रुपमा स्थापित नेपाली काँग्रेसले गाउँगाउँमा आफ्नो क्रियाशील सदस्यहरुलाई पुनःजागृत गराउँदै छ । आसन्न महाधिवेशनको तयारी स्वरुप अहिले काँग्रेस नेता तथा कार्यकर्ता क्रियाशील फारमसहित गाउँ पसेको छ । पार्टीको आन्तरिक जीवनमा सबैभन्दा अगाडि गुटको जन्म गराउने पार्टी पनि यहि हो ।

नेपालमा कम्युनिष्ट पार्टी भन्दा प्रकृयामा लोकतान्त्रिक देखिएको पार्टीभित्र आफ्नै काखमा राखेर छुरा हान्ने प्रवृत्ति पनि पहिल्यै नै बढेको हो । तत्कालीन समयमा वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोईरालाको सरकार ढालेकै हुन् ।

यसपछि बढेको चरम गुटबन्दीका कारण कहिल्यै बहुमत ल्याउने अवस्थामा पुगेन । तर, २०५४ सालमा तत्कालीन नेकपा एमालेको विभाजन नभएको भए २०५६ सालमा समेत काँग्रेसले पहिलो पार्टी हुने अवस्था थिएन । त्यही अवसकारको सदुपयोग इतिहाँसमा तेस्रो पटक काँग्रेसले प्राप्त ग¥यो यद्यपि, आन्तरिक कलहकै कारण यस पटकसमेत सत्ता नै गुमायो ।

यद्यपि, २०१५ सालमा नै नेपाली काँग्रेसको दुई तिहाई भन्दा पनि बढी सिट जितेर ४४ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका वीपि कोईरालाले समेत आन्तरिक कारणबाटै सत्ता राजाको हातमा पु¥याएका थिए । त्यहि काँग्रेसको अहिले महाधिवेशनको तयारीको चरणमा गाउँ छिरेका छन् । यसकै शुरुवातका रुपमा अहिले गाउँगाउँमा काँग्रेसको क्रियाशील सदस्यता नवीकरण भइरहेको छ ।

काँग्रेस खोटाङको बिगत पनि राष्ट्रियस्तरमा जे छ त्यही हुने हो । भइरहेको पनि उहि हो । यस्तै यस्तै हो । यसपटक काँग्रेस खोटाङका विषयमा कुरा गर्ने हो भने निकै सकसपूर्ण कथा हुन सक्ने सम्भावना छ । किन भने अव खोटाङ काँग्रेसमा अघिल्लो पुस्ताको नेताहरुको ठाउँमा युवा नेताहरुको जन्म भईसकेको अवस्था छ ।

हिजोको काँग्रेस जस्तो आजको छैन । हिजो केहि नितान्त केहि नेताहरुको उपस्थितिले काँग्रेसको खोटाङको भावी नेतृत्वको टुङ्गो लगाउँथ्यो । तर, आज स्थिति त्यो होईन युवाहरुमा कडा प्रतिस्पर्धा हुने छ ।

जिल्ला सभापति नरेश श्रेष्ठको कडा प्रतिस्पर्धीका रुपमा युवा नेताहरुले आफूलाई वार्मअप गराइरहेका छन् । उनीहरुले आफ्नो पक्षमा क्रियाशील सदस्यहरु बनाउन अहिलेदेखि कसरत शुरु गर्ने नै भए । यद्यपि, यस पहिलो लियरका नेताहरु विष्णु राई, सर्वधन राई, सुवास पोख्रेल, सरस्वती बजिमयको भूमिका पनि कम छैन ।

केन्द्रमा काँग्रेसभित्र तीनवटा राम्रै लाइन रहेको देखिन्छ । गएको १३ औँ महाधिवेशनमा देखिएको तीनवटा धारको लहरो खोटाङमा पनि रहेको छ । यसमा पनि खोटाङमा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनसम्म आइपुग्दा भने दुईवटा धारबीच प्रतिस्पर्धा हुने चलन रहेको छ ।

अझ रमाईलो कुरा भनेको काँग्रेसले लोकतान्त्रिक विधि अपनाएर निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चुन्छ । यसरी चुनिनका लागि गाउँ तहमा नै जग राम्रो हुनुपर्ने तर्कहरु सुनिन थालेका छन् । यो राम्रो कुरा पनि हो ।

मुलत एउटा राजनीतिक दलको नेता राम्रो भएमा मात्र जिल्लाको समग्र विकासमा राम्रो परिणाम आउने भएकाले आम नागरिकको सुभेक्षा राम्रो र जिल्लामा रहेका नेताहरुनै नेतृत्वमा आउन भन्ने हुन्छ । यद्यपि, पार्टीको लाईन र विचारको आधारमा स्थापित नेताहरु नहुँदाको पीडा पनि उतिकै झेल्नु पर्दछ ।

जुनसुकै राजनीतिक दल भएपनि उनीहरुले अगाडि बढाउने गतिविधि र कार्यक्रमहरुले समाज परिवर्तनको हुङ्कार बोकेको हुन्छ । यस अघि काँग्रेसले नजानेर वा जानेर केहि कमजोरीहरु गरेकै छ । गुटगत खेलमा लाग्दा उसले बलबहादुर राई जस्ता त्यागी नेताहरुलाई विस्थापन गरेको छ ।

विदुर पौडेल कौशलराज रेग्मी जस्ता पुराना नेताहरुलाई जिल्लामै राख्न नसक्दा सङ्गठन निर्माणमा घाटाहरु भएका छन् । पछिल्लो समयमा खोटाङ काँग्रेसको नेता शिव बस्नेत पार्टीको क्रियाशील सदस्यनै सरुवा बोकेर जानुपर्ने अवस्थाको सिर्जना हुँदा खोटाङ काँग्रेस बलियो भएको छैन ।

खोटाङबाट निर्वाचित काँग्रेसका नेता जो मन्त्री हुने हैसियतमा पुगे आज उनी बेगरको काँग्रेस भएपनि केहि घाटा नै छ । यस्तै पाँच वर्ष अगाडिको महाधिवेशन ताका क्षेत्रीय समितिमै हराइएको सर्वधन राई गुमनाम जस्तै हुनु परेको छ । २०५६ सालको निर्वाचनमा प्रखर युवा नेता जो मन्त्रीसमेत भइसकेका व्यक्तिलाई गाउँ टोलमै हराउने खेलले सर्वधन राई जस्ता नेता गुमनाम भए ।

उनलाई नेतृत्वमा मिलाएर ल्याउन सकेको भए काँग्रेसलाई नाफा नै हुँदो हो । यसलाई काँग्रेसजनको रमाईलो खेलका रुपमा लिनुमात्र उपाय होइन नेतृत्व स्थापित गर्नुपनि पर्दछ ।
हुन त काँग्रेस पार्टीको आन्तरिक जीवनमा मात्र यस्तो राजनीति चल्दैन । प्रतिपक्षसँग महत्वपूर्ण लडाईमा समेत अन्तरघातको जोखिम धेरै हुन्छन् ।

आफ्नो पार्टीको उम्मेदवार फरक गुटको भएमा रातारात रुलिङ गरेर आफ्नैलाई हराउने खेलपनि नभएका होइन । इमानको राजनीति गर्ने काँग्रेसलाई बेइमानको राजनीति सिकाउनेहरु समेत छन् ।

यसबाट पार्टीलाई बचाउनु आजको काँग्रेसले सुद्धिकरण गर्नै पर्छ । काँग्रेससँग जनताले समेत यस्तै इमानको राजनीतिको आशा राखेका छन् । बेइमानको राजनीति गर्न कसैलाई छुट छैन । गाउँ पसेको काँग्रेसलाई शुभकामना !
लेखक राई प्रेस सङ्गन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया