एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्दार

Halesi Khabar

खोटाङ, १३ साउन । एक वर्षअघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चिनमाया अधिकारी खत्रीलाई उद्दार गरेर उपचारका काठमाडौँ  पठाइएको हो । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख बिमला राईको पहलमा मङ्गलबार उद्दार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठाइएको हो ।

रुखबाट लडेको दिनदेखि कम्मरमुनीको भाग चल्न छोडेपछि ओछ्यानमा थलिएकी उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले उद्दार गरेर उपचारमा पठाइएको नगरउपप्रमुख राईले बताउनुभयो । “समयमै जानकारी पाएको भए चिनमायाँलाई अलि छिटो उपचार गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “ढिलै भएपनि उनलाई गाडी रिजर्भ गरेर राजधानी काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ । मलाई विश्वास र चिकित्सा विज्ञानसँग भरोसा छ । उनको रोग निको हुनेछ ।”

रुखबाट लडेर रुखमै अड्किरहेकी अवस्थामा चिनमायाँलाई स्थानीय बासिन्दाले उद्दार गरेर घरमा लगेलगत्तै थला परेकी उनको शरीर अहिले अनौठो देखिएको छ । शरीरमा छाला र हड्डी मात्र देखिने उनको पेट भासिएर रित्तो भाँडोजस्तै देखिएको छ ।

उद्दार गरेर घरमा पु¥याउनासाथ ओछ्यान लागेकी उनी एकाएक बोल्न छाडेकी थिइन् । उनको कम्मरमुनीको भाग पूर्णरुपमा चल्न छोड्यो । हिँड्न र बोल्न छाडिन् । उपचार गर्न ओखलढुङ्गा र काठमाडौँसम्म पु¥याइएपनि डाक्टरहरूले केही नभएको र ग्यास्ट्रिकको लक्षण देखिएको प्रतिक्रिया दिएका थिए ।

ओखलढुङ्गा र काठमाडौँमा उपचार सम्भव नभएपछि घरमा ल्याएर धामी÷झाँक्री अनि सामान्य घरायसी उपचार गराउँदा उनको बोली फुटेको पारिवारिक स्रोतले जनाएको छ । घरायसी उपचारपछि राम्ररी बोल्न र बाहिरी कुराको बारेमा होस राख्नसक्ने भएपनि शरीर नचल्दा दिनानुदिन उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हो ।

घरायसी उपचारपछि उनले खानेकुरा खाएपनि पाचन प्रक्रियामा नपुगी मुखबाट खाएको खाना मुखबाटै फर्किने गरेको चिनमायाँकी आमा खड्गमायाँ अधिकारी खत्रीले बताउनुभयो । “खाना जति खाएपनि पेटमा अडिन्न”, उहाँले भन्नुभयो, “खाएको कुरा जस्ताको तस्तै फर्किन्छ । तर, उनी खान भने कहिले अल्छी गर्दिनन् । भोक अति नै लाग्छ र खान्छिन् पनि । तर, भरिने भाँडो सधैँ खाली र रित्तो हुने गरेको छ ।”

चिनमायाँको बुबा रामबहादुर अधिकारी खत्रीले कान्छी आमा ल्याएर अर्कै घरमा बसेपछि उनको आमा खड्गमायाँ अहिले सबै काम छोडेर छोरीको स्याहार÷सुसारमा दिनरात बिताउँदै आउनुभएको छ । बिरामी छोरी चिनमायाँको स्याहार÷सुसारमा दिनरात खटिनुभएकी आमा खड्गमायाँले उनको उपचारमा आवश्यक रकम सहयोग गरिदिन सहयोगदाता सबैसँग अपील गर्नुभएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर सिकिस्त बिरामी परेकी चिनमायाँको जीवन रक्षाका लागि सबैको सहयोग आवश्यक रहेको उनका छिमेकी एवम् नेपाली काँग्रेसका युवा नेता राजकुमार राईले बताउनुभयो । युवा नेता राईका अनुसार रामबहादुरको जेठी श्रीमती खड्गमायाँपट्टी दुई छोरा र दुई छोरी छन् ।

बिरामी चिनमायाँ जेठीपट्टीकी कान्छी छोरी हुन् । उनीपट्टीका जेठा दाजु र ठूली दिदीको विवाह भइसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया