चार महिनापछि खोटाङमा छोटो दूरीका सबै सवारी साधन चलाउन थालियो

Halesi Khabar

खोटाङ, ७ साउन । नेपाल सरकारले बन्दाबन्दी खुला गरेसँगै खोटाङ यातायात प्रा.लि.ले जिल्लामा छोटो दूरीका सबै सवारी साधन सञ्चालनमा ल्याएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण गत चैत १० गतेदेखि बन्द गरिएको सबै सवारी साधन बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

चार महिना लामो बन्दाबन्दीपछि मास्क र सेनीटाइजरको अनिवार्य प्रयोग गरेर एक सिटमा एक जना मात्र राखेर जिल्लाभित्रकै छोटो दूरीका सडकमा यातायात सेवा सञ्चालन गरिएको प्रा.लि.का महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । हाललाई मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–जयराम र दिक्तेल–बुइपा सडक खण्डमा दैनिक बस सञ्चालनमा ल्याएको हो ।

दिक्तेलबाट निर्मलीडाँडामा बस पठाएर सेवा शुरु गराइएको महासचिव हिङ्माङले बताउनुभयो । “एक सिटमा एक जना यात्रु मात्र राख्नुपर्ने भएकाले भाडा भने दोब्बर गरिएको छ”, उहाँले भन्नुभयो, “जिल्लाका अन्य कच्ची सडक वर्षाका कारण अवरुद्ध भएकाले कालोपत्र गरिएको मध्यपहाडी लोकमार्गभित्र मात्र सवारी साधन सञ्चालनमा ल्याइएको हो ।”

खोटाङ यातायात प्रा.लि.मार्फत ४० वटा बस, १५ वटा जीप र सहकार्यमा १०० वटाभन्दा बढी बसहरु सञ्चालनमा रहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले साउन ८ गतेदेखि छोटो, मझौला तथा लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेपनि खोटाङमा एक दिन अगावै सवारी साधन चलाउन शुरु गरिएको यातायात व्यवसायीले बताएका छन् ।

तपाईको प्रतिक्रिया