‘नीतिभन्दा नेता प्रधान बन्ने प्रवृत्ति मौलायो’ ः पुष्पलाल स्मृति दिवसका वक्ता

Halesi Khabar

खोटाङ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताले पार्टीभित्र ‘नीतिभन्दा नेता प्रधान बन्ने’ प्रवृत्ति मौलाएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवसमा बुधबार दिक्तेलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले ‘कम्युनिष्ट पार्टीमा नेता प्रधान होईन, नीति प्रधान हुन्छ’ भन्ने आदर्शलाई पार्टीका शिर्ष नेतृत्वले नै कुल्चिएको गुनासो गरेका हुन् ।

उनीहरुले कम्यूनिष्ट पार्टीमा ‘गुटबन्दी गर्नु सबैभन्दा ठूलो अपराध’ भए पनि पछिल्लो समय पार्टीभित्र एकले अर्काको अस्तित्व नै सक्नेगरी गुटबन्दी मौलाएको बताएका छन् । प्रमुख अतिथिकारुपमा नेकपाका प्रदेश कमिटि सदस्य एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले पार्टीको आदर्श र नेताको व्यवहारमा आकाश पातालको फरक परिरहेको बताउनुभयो ।

“हाम्रो भनाइ र गराइमा एकदमै फरक छ । धेरथोर भन्ने मात्र हो, हामी सबै त्यसका भागीदार छौँ”, उहाँले भन्नुभयो, “पार्टीको नीतिलाई प्रधान बनाउने पुष्पलालको सपनालाई साकार बनाउन हामी लाग्नुको विकल्प छैन ।”

पदका विषयलाई लिएर हाल शिर्ष नेतृत्वमा देखिएको असमझदारीले तल्ला तहका कार्यकर्तामा निराशा पैदा गरेको चाम्लिङको भनाइ थियो । विशेष अतिथिकारुपमा संविधानसभा सदस्य एवम् नेकपाका प्रदेश कमिटि सदस्य पाँचकर्ण राई ‘पिके’ले नेकपाको एकतालाई सार्थक बिन्दुमा पु¥याउने अभिभारा पुरा गर्न शिर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक विवादलाई किनारा लगाएर कार्यकर्तामा उत्साह जगाउनुपर्ने बेला भएको राईले उल्लेख गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले नीति प्रधान हुने र गुटबन्दी अन्त्य गर्न सके पुष्पलालले देखेको सपना पुरा हुने बताउनुभयो ।

कार्यक्रममा नेकपाका कार्यालय सदस्य जीवन राई र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मनकाजी राईले पुष्पलालको योगदान र त्यागको विषयमा चर्चा गर्नुभयो । नेकपा जिल्ला कमिटिको आयोजनामा दिक्तेलस्थित पुष्पलालको स्मृति भवन अगाडि उहाँको ४२ औँ स्मृति दिवस मनाइएको हो ।

नेकपाको पार्टी कार्यालयलाई क्वारेन्टिनकारुपमा प्रयोग गरिएका कारण पुष्पलाल स्मृति दिवस पार्टी कार्यालय अगाडि गरिएको थियो । स्मृति दिवसमा नेकपाका नेता तथा कार्यकर्ताले पुष्पलालको प्रतिमामा माल्यार्पण गरेका थिए ।

कार्यक्रम नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालको सभापतित्वमा भएको थियो । विसं १९८१ असार–१५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि सञ्चालन गरेका थिए ।

विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले पहिलो पटक भारतको कोलकातामा बसेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका हुन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले श्रद्धा गर्ने पुष्पलाल सहिद गङ्गालाल श्रेष्ठका भाई हुन् ।

नेपाली काँग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्ने आन्दोलनमा समेत पुष्पलाल लडेका थिए ।

तपाईको प्रतिक्रिया