भङ्गेटारको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल

Halesi Khabar

खोटाङ, ४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीय बासिन्दाले निर्माण गरेको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल भएको छ । बन्दाबन्दीको समयमा खार्मीका २२ घर स्थानीय बासिन्दाले भङ्गेटारमा निर्माण गरेको तालमा परीक्षण गरिएको काठको डुङ्गा सफल भएको हो ।

कृत्रिम तालमा डुङ्गा परीक्षण सफल भएसँगै आगामी साउन १९ गते पर्ने धान्यपूर्णीमाको अवसर पारेर व्यवस्थित र व्यवसायिकरुपमा सञ्चालन गर्ने तयारी गरिएको ताल निर्माण गरिएको उपभोक्ता समितिका सचिव दिपककुमार तामाङले बताउनुभयो । “तालमा परीक्षणमा काठको सानो डुङ्गा सफल भएको छ । यसबाट हामीलाई उत्साह मिलेको छ”, उहाँले भन्नुभयो, “काठकै अलि ठूला–ठूला डुङ्गा तयार पारेर व्यवसायिकरुपमा चलाउने तयारी गरिरहेका छौँ ।”

काङ्साहोप तालमा रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेपछि व्यवसायिकरुपमा डुङ्गा सञ्चालन गर्ने तयारी थालिएको सचिव तामाङले बताउनुभयो । काङ्साहोप, बाँझोबारी, रमितेडाँडा लगायतका ठाउँको पर्यटन प्रवद्र्धन गर्न स्थानीय बासिन्दाले चन्दा उठाएर करीब रु पाँच लाख पाँच हजारको खर्चमा कृत्रिम ताल निर्माण गरेका हुन् ।

जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाइ गर्न मिल्नेगरी निर्माण गरिएको एल आकारको ताललाई डुङ्गा शयर गर्ने स्थलकोरुपमा समेत उपयोग गर्ने तयारी थालिएको छ । नियमित पानी पलाउने मुहान भएको सानो खाल्डोलाई स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो ।

तालसम्म पुग्नका लागि कच्ची सडक बनिसकेको छ । तामाङ भाषामा मट्याङ्ग्रा बनाउने माटोलाई ‘काङ्सा’ र खाल्डोलाई ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मट्याङ्ग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई काङ्साहोप ताल भनिएको स्थानीय बासिन्दाको भनाइ छ ।

ताल निर्माण गरिएको ठाउँमा यसअघि सानो खाल्डो थियो । बाह्रै महिना पानी उम्रिने खाल्डोमा मेसिन लगाएर फराकिलो बनाएर तालको रुप दिइएको हो ।

टाढाबाट पानको पातको आकृति देखिने तालमा नजिकैको खोदुखोलाको पानी पनि ल्याएर हालिएको छ । काङ्साहोप तालबाट दुई मिनेट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुङ्गा घुमफिरका लागि चर्चित छ ।
समुन्द्री सतहदेखि करीब एक हजार ७०० मिटर उचाईमा रहेको काङ्साहोप तालबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिन्छ । बाँझोबारीबाट सिधै काङ्साहोप ताल पुग्ने छोटो दूरीको सडक निर्माण गर्न सके बाँझोबारी र काङ्साहोप तालको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीय बासिन्दाको अपेक्षा छ ।

बजेट प्राप्त भए तालको क्षेत्रफल थप बढाउन सकिने सचिव तामाङले बताउनुभयो । ताल निर्माणकाक्रममा सङ्कलन गरिएको रकममध्ये रु दुई लाख ७५ हजार स्काभेटर सञ्चालकलाई दिइएको र बाँकी रहेको रकम चालक, सह–चालक तथा श्रमदानमा सहभागीको खाना, खाजामा खर्च गरिएको जनाइएको छ ।

यस वर्ष तालको रुपमा विकास गरिएको उक्त ठाउँमा गत वडा कार्यालयबाट रु तीन लाख ५० हजारमा ड्याम निर्माण गरिएको थियो । निर्माण सम्पन्न गरेर फरफारक गरेको केहि समयमै उक्त ड्याम फुटेको थियो । तस्वीर उपलब्ध छ ।

तपाईको प्रतिक्रिया