नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचन

Halesi Khabar

खोटाङ, ३ साउन । विद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक शनिबार साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विचोचन गरिएको हो ।

पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको पाठ्यपुस्तक नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, किरात राई प्रज्ञ परिषदका कुलपति जयकुमार राई, परिषदका सदस्य सचिव एबं भाषाविद डा. तारामणी राई, लोहोरुङ राई समाज अध्यक्ष चित्रबहादुर लोहरुङ लगायतले संयुक्तरुपमा विमोचन गर्नुभयो । खोटाङ, सोलुखुम्बु, उदयपुर लगायत जिल्लाका नाछिरिङ राईको बाहुल्यता रहेको विद्यालयमा पठनपाठन गर्न पाठ्यपुस्तक तयार पारिएको साखामकी केन्द्रीय उपाध्यक्ष कमलकुमारी राईले बताउनुभयो ।

वि.सं. २०७६ जेठ १२ गते विमोचन गरिएको कक्षा १ को पाठ्यपुस्तकको परिमार्जित संस्करणलाई समेत कक्षा २ को पाठ्यपुस्तकसँगै विमोचन गरिएको छ । २०७६ सालदेखि सोलुखुम्बूको सोताङ गाउँपालिकाका पाँच विद्यालय र खोटाङको ऐसेलुखर्क गाउँपालिकाको पाँच विद्यालयमा नाछिरिङ भाषाको पठनपाठन शुरु गरिएको छ ।

वि.सं. २०६८ सालको जनगणना अनुसार पूर्वी नेपालमा नाछिरिङ भाषा बोल्न जान्ने जनसंख्या १० हजार ४१ जना रहेको छ । उदयपुरमा पनि एउटा विद्यालयमा नाछिरिङ भाषामा पठन–पठनको तयारी भइरहेको साखाममा महासचिव गान्दीभ किराँतीले बताउनुभयो ।

लोपोन्मुख बनेको नाछिरिङ भाषा, सँस्कृति, इतिहास लगायतको संरक्षण एवम् संवद्र्धनको लक्ष्यकासाथ आफ्नै भाषामा पाठ्यपुस्तक तयार पारेर पठनपाठन शुरु गरिएको साखामले जनाएको छ । स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठनपाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्यता रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठनपाठनका लागि समितिले पाठ्यक्रम तयार पारिसकेको छ ।

भाषाविद् डा. तारामणि राईको परामर्शमा पाठ्यक्रम निर्माण समिति र नाछिरिङ राई भाषा बोल्न जान्ने पुर्खासँग विभिन्न चरणमा सञ्चालन गरिएको कार्यशाला÷गोष्ठी पश्चात पाठ्याक्रमलाई अन्तिम रुप दिइएको जनाइएको छ । वि.सं. २०७५ मङ्सिर १४ गते ३५ भन्दा बढी नाछिरिङ पुर्खाहरुको उपस्थितिमा धरानमा सम्पन्न पहिलो कार्यशाला गोष्ठीले ‘हामी सबै एउटै नाछिरिङ हौँ, हाम्रो भाषा एउटै नाछिरिङ हो’ भन्ने निष्कर्ष सहित भाषाको पाठ्यक्रम निर्माण शुरु गरेको थियो ।

नाछिरिङ राई भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता भाषिक विकासका साथै सामाजिक तथा साँस्कृतिक संरक्षण तथा सम्वद्र्धनको लक्ष्यकासाथ पाठ्याक्रम निर्माण गरिएको पाठ्याक्रम तथा पाठ्यापुस्तक लेखन समितिका संयोजक नाछिरिङले बताउनुभयो । सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ ।

यस बाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोवास रहेको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सङ्घीयता लागू भएपछि विभिन्न जातजातिका पाठ्यक्रम तयार गर्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया