खोटाङका सबै कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए

Halesi Khabar

खोटाङ, २ साउन । कोरोना भाइरसबाट सङ्क्रमित खोटाङका ११ जना उपचारपछि घर फर्किएका छन् । दश स्थानीय तह रहेको जिल्लाका ११ जना सङ्क्रमितमध्ये सबैजना उपचारपछि घर फर्किएका हुन् ।

यसअघि नौँ सङ्क्रमित उपचारपछि घर फर्किएका जिल्लामा बाँकी दुई जना पनि कोरोना जितेर घर फर्किएका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । प्रजिअ पौडेलका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना सङ्क्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किएका हुन् ।

हालसम्म उपचारमा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई सङ्क्रमित पनि शुक्रबार सफल उपचारपछि डिस्चार्ज भएको जनाइएको छ । जिल्लाका सबै सङ्क्रमित उपचारपछि घर फर्किएपछि जिल्ला ‘कोरोनामुक्त’ बनेको छ ।

जिल्लामा ६५५ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रशासनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २५४, हलेसी तुवाचुङ नगरपालिकाका १९० जना, ऐसेलुखर्क गाउँपालिकाका ५० जना, खोटेहाङ गाउँपालिकाका ४९ जना, जन्तेढुङ्गा गाउँपालिकाका ३४ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ३२ जना, साकेला गाउँपालिकाका २४ जना, रावाबेँसी गाउँपालिकाका १२ जना, बराहपोखरी गाउँपालिकाका ७ जना र केपिलासगढी गाउँपालिकाका तीन जनाको पिसिआर परीक्षण गरिएको छ ।

जिल्लामा हालसम्म एक हजार ६०८ जनाको आरडिटी परीक्षण गर्दा ३० जनाको पोजेटिभ रिपोर्ट देखिएको प्रशासनले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न उच्च सतर्कता अपनाइएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया