शल्यक्रिया गरिएको सुत्केरीको हेलिकोप्टरबाट उद्दार

Halesi Khabar

हलेसी खबर ।
खोटाङ, ६ पुस :

शल्यक्रिया गरिएकी सुत्केरीको अधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । शनिबार बेलुका जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की २६ वर्षीया एलिना कार्की (श्रेष्ठ)लाई आज (आइतबार) हेलिकोप्टरबाट उद्दार गरिएको हो ।

उच्च रक्तश्रावका बिरामी एलिनाले सामान्य प्रक्रियाबाट बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गर्दा समेत ठीक नभएपछि काठमाडौँस्थित प्रसुतिगृह थापाथली रेफर गरिएको जिल्ला अस्पताल खोटाङका चिकित्सक नारायण बरालले बताउनुभयो । “शल्यक्रिया गरेर निकालिएको बच्चाको अवस्था राम्रो छ”, उहाँले भन्नुभयो, “आमामा देखिएको समस्या ठीक नभएपछि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको हो ।”

शल्यक्रियापछि रगत अभाव देखिएकी एलिनालाई नेपाल रेडक्र सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले रगत समेत उपलब्ध गराउनुभएको थियो । अस्पतालले गर्ने सबै प्रक्रिया पूरा गर्दा समेत ठीक नभएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा सरकारी हेलिकोप्टरमार्फत एलिनाको उद्दार गरिएको हो ।

राष्टपित महिला उत्थान कार्यक्रम अन्र्तगत देश भर जहाँ भएनि महिलाहरुको प्रशुति सम्बन्धि समस्या भएमा यसै हेलिकप्टर मार्फत उद्दार गर्न सरकारले पहल लिएको छ । आमा र बच्चा दुई मध्य जसको समस्या भएनि उद्दार गरिने यो सेवा मार्फ देश भर छ दर्जन बढि महिलाको ज्यान बचाइसकेको छ । खोटाङमा जिल्लामा भने यो सेवा पहिलो पटक ल्याइएको सांसद विशाल भट्टराईले जानकारी दिएका छन ।

सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना हुनुभएकी एलिनाको शल्यक्रियाबाट छोरा जन्मिएको छ । शल्यक्रियाबाट जन्माइएको नवजात शिशुको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

जिल्ला अस्पताल खोटाङमा प्रसुतिगृह सञ्चालन भएपछि गर्भवतीको यहि उपचार हुने गरेको थियो । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सरकारी हेलिकोप्टरमार्फत सुत्केरीको उद्दार गरिएको यो पहिलो घटना हो ।

तपाईको प्रतिक्रिया