सामाजिक सञ्जालले जिउँदैलाई मारेको छ, यो मजाकको विषय होइन – मन्त्री बाँस्कोटा

Halesi

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका छन् ।

सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरे । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको बताए ।

सैद्धान्तिक छलफललका क्रममा सांसद डिला सङ्ग्रौला, महेश बस्नेत, योगेश भट्टराई, खगराज अधिकारी, विमला विक, रेणुका गुरुङ र सूर्य पाठकलगायतले बोलेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिनुहँुदै मन्त्री बाँस्कोटाले विधेयकमा कही कतै साइबर संसारलाई प्रतिबन्ध गर्ने शब्द उल्लेख नभएको सदनलाई जानकारी दिए ।

“सबैलाई थाहा छ, स्वतन्त्रताको सीमा हुँदैन, तर सबैलाई यो पनि थाहा छ, मर्यादाको सीमा हुन्छ, त्यो नाघ्न मिल्दैन,”–मन्त्री बाँस्कोटाले भने ।सामाजिक सञ्जालले जिउँदै मान्छेलाई मारिदिएको पनि उनले चर्चा गरे । ‘यो पनि जुम्ल्याहा शब्दको अधिनायकबाद र दुईतिहाइको दम्भ हो भनियो । सामाजिक सञ्जालले जिउँदैलाई मरेको बनाएको छ, यो मजाकको विषय होइन’, बास्कोटाले थपे, ‘केही सांसदले राजश्वको कुरा होइन भने तर यसमा राजश्वको कुरा छ, आर्थिक कुरा पनि यसमा छ ।’

त्यसैगरी आजै “सङ्घीय निजामति सेवा विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । सदनमा सो विधेयक सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक फागुन १४ गते ११ बजे बस्नेछ । –

तपाईको प्रतिक्रिया