साकेलामा डिप्लोमा तहको बाली विज्ञान विषय पढाइ शुरु

Halesi

खोटाङ÷साकेला गाउँपालिकाको रतन्छामा पहिलो पटक डिप्लोमा तहको बाली विज्ञान विषयको पढाइ शुरु भएको छ । शिक्षा मन्त्रालय अन्तरगतको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् भक्तपुरले वडा नम्बर–२ रतन्छाको साकेला माध्यमिक विद्यालयलाई तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषयको अध्यापन गराउन अनुमति दिएपछि पढाइ शुरु भएको हो ।

डिप्लोमा तीन वर्षे कार्यक्रम अन्तरगत बाली विज्ञान विषयको कक्षा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे । सोही विषयको कक्षा सञ्चालन गर्नका लागि निर्माण गर्न लागिएको विद्यालय भवन समेत शिालान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य भट्टराईको संसदीय विकासकोषको रु. ५० लाख रकमबाट निर्माण हुने भवन दुई तलामा आठ कोठा हुने प्रधानाध्यापक शिवेन्द्रकुमार राईले बताए । निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिने उक्त बाली विज्ञान विषयको पढाइ हुने विद्यालय भवनको निर्माण कार्यसमेत थालिएको जनाइएको छ ।

बाली विज्ञान विषयको कक्षा उद्घाटन तथा भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य भट्टराईले देशमा व्यवहारिक शिक्षाको आवश्यकता रहेको औल्याए । “वैज्ञानिक, व्यवहारिक, विषयगत तथा व्यवसायिक शिक्षाको आवश्यक्ता सर्बत्र बोध भएको छ ।” उनले भने, “यो समयमा प्रारम्भ भएको बाली विज्ञान विषयको पठन–पाठनले हाम्रो जिल्लाको शिक्षामा महत्वपूर्ण फड्को मार्ने आशा जगाएको छ ।”

सरकारको आगामी दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने नीति लिएको छ । सोही नीति अनुसार स्थानीय सरकारको अनुमतिसहित आवेदन प्राप्त भएका र सम्बन्धित विषय विज्ञबाट पूर्वाधार निरीक्षण हुँदा सबै पूर्वाधार पूरा गरेका सामुदायिक विद्यालयलाई शैक्षिक सत्र २०७५÷०७६ देखि गुणस्तरीय प्रशिक्षण गराउने शर्तमा अनुमति दिएको परिषद्ले जनाएको छ । खोटाङसँगै चितवनको भरतपुर महानगरपालिका, सर्लाहीको बागमती नगरपालिका, तनहुँको ब्यास नगरपालिका र रौतहटको गुजारा नगरपालिकामा पनि १ र १ विद्यालयलाई बाली विज्ञान विषयको अध्यापन गराउन अनुमति दिएको छ ।

तपाईको प्रतिक्रिया