देश परिवर्तनले मात्र शहीदको सपना पूरा हुन्छ- गृहमन्त्री थापा

Halesi

झापा । गृहमन्त्री रामबहादुर थापाले सरकार समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘जनआन्दोलन तथा जनयुद्धका महान् शहीदको सम्मानमा श्रद्धाञ्जलि कार्यक्रम’मा उहाँले महान् शहीदको सपना पूरा गर्न सरकार समाजवादको आधार निर्माणको दिशामा अघि बढिरहेको बताउनुभयो ।

“समाजवादको शुरुआत गरेर सामन्यवादको गन्तव्यमा पुग्ने पार्टीको नीतिअनुसार सरकार समाजवादको आधार निर्माण लागि परेको छ”, उहाँले भन्नुभयो, “उत्पादन, औद्योगिक विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षालगायतमा जनताको पहुँच अभिवृद्धि हुनु समाजवाद हो, सरकार त्यही दिशामा अघि बढेको छ ।” समाजवादको आफ्नै राजनीतिक, सामाजिक र आर्थिक नीति हुनेसमेत उहाँले बताउनुभयो । उत्पादनमा समान स्वामित्व ग्रहण र राजनीतिमा श्रमजीवी वर्गको पहुँच नभएसम्म समाजवाद नआउने उहाँले बताउनुभयो ।

शहीदको सपना पूरा गर्न वर्तमानको समीक्षा गर्दै नयाँ सङ्कल्प र एकताबद्ध अघि बढ्नुपर्नेमा गृहमन्त्री थापाले जोडसमेत दिनुभयो । “परिवर्तन आन्दोलन र सङ्घर्षबाट मात्र प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “परिवर्तनले मात्र शहीदको सपना पूरा हुन्छ ।”

नेकपाको पार्टी एकताको प्रसङ्गमा कुरा गर्दै गृहमन्त्री थापाले फागुन महीनाभित्र पार्टी एकता हुने बताउनुभयो । “पार्टी एकताको बाँकी काम फागुन दोस्रो सातासम्मा पूरा हुन्छ”, उहाँले भन्नुभयो, “पार्टी एकताको विकल्प छैन, फागुनभित्र पार्टी एकता हुन्छ, म प्रतिबद्धता गर्छु ।” पार्टी एकतालाई पूर्णता दिन अन्तर सङ्घर्ष र बहसलाई नयाँ उचाइमा पु¥याउनुपर्ने आवश्यकतासमेत उहाँले औँल्याउनुभयो । “पार्टीभित्रको कमजोरीमा खेल्ने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “पार्टी गुट होइन, सबै प्रवृत्तिलाई मिलाएर लान आवश्यक छ ।”

तपाईको प्रतिक्रिया