खार्मीमा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान निर्माण हुँदै

Halesi
0 Shares

केदार मगर÷खोटाङ ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान निर्माण शुरु गरिएको छ । नगरपालिकाको लगानी तथा स्थानीय युवाको पहलमा १२० मिटर लम्बाई र ८० मिटर चौडाई भएको फुटबल खेल मैदान निर्माण शुरु गरिएको हो ।
दिक्तेल–बास्पानी–बाक्सिला सडक खण्डमा पर्ने खार्मीका स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा फुटबल खेल मैदान निर्माण शुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताउनुभयो । “खेल क्षेत्रको विकास र व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले खेल मैदान निर्माण थालिएको छ ।” उहाँले भन्नुभयो, “खार्मीमा निर्माणाधीन खेल मैदान जिल्लाकै ठूलो र उत्कृष्ट हुने हाम्रो दाबी छ ।”
खेल मैदानका लागि स्थानीय पुस्कर राई, डम्बर राई र कृष्णकुमारी तामाङले संयुक्त रुपमा निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । निर्माणाधीन खेल मैदान जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करीब ११ किलोमिटर टाढा पर्छ ।
खार्मीमा निर्माणाधीन खेल मैदानलाई नगरपालिकाको गौरवको योजनामा समाबेस निरन्तर विकासमा सहयोग गर्ने नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “खेल क्षेत्रको विकासका लागि हरेक वडामा एक÷एक वटा खेल मैदान निर्माण गर्न नगरपालिका लागी परेकोे छ ।” उहाँले भन्नुभयो, “खार्मीमा निर्माणाधीन खेल मैदान उपयुक्त ठाउँमा रहेकाले पनि नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने छ ।”
खार्मीमा निर्माणाधीन खेल मैदान अन्य ठाउँको तुलनामा थोरै खर्चमा निर्माण सम्पन्न हुने प्राविधिकको अनुमान छ । निर्माणाधीन खेल मैदान सम्याउने काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
खेल मैदान सम्याउने काम सकिएलगत्तै प्याराफिट, मञ्च, धारा तथा सौचालय लगायत अन्य संरचनाको काम शुरु गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । खार्मीमा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान निर्माण शुरु गरिएपछि बारीको कान्ला र खुला चउरमा फुटबल खेल्दै आएका खेलाडी हर्षित भएका छन् ।
समुन्द्री सहतदेखि करीब एक हजार ७०० मिटर उचाईमा रहेको खार्मीमा निर्माणाधीन खेल मैदानमा बाह्रै महिना प्रतियोगिता आयोजना गर्न सकिने जनाइएको छ । खार्मीमा निर्माणाधीन खेल मैदान जिल्लाकै उपयुक्त ठाउँमा रहेको जनाइएको छ ।
निर्माणाधीन खेल मैदान मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवा सडक खण्डको सोल्मादेखि करीब नौं किलोमिटर उत्तर खार्मी–बाक्सिला सडकभन्दा करीब २५ मिटरमाथि पर्दछ । निर्माणाधीन खेल मैदान नयाँ वर्ष २०७६ को अवसरमा खुला फुटबल प्रयोगिता आयोजना गरेर उद्घाटन गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया