जनताका अगाडि गरिएका सबै प्रतिबद्धता पूरा हुन्छ ः पर्यटनमन्त्री अधिकारी

Halesi

भुमिका न्यौपाने
खोटाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले जनताका अगाडि गरिएका सबै प्रतिबद्धताहरु पूरा हुँदै जाने दाबी गर्नुभएको छ । खोटाङको थामखर्क विमानस्थल उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले आगामी जेठ १५ मा हुने बजेटमा समावेश गरेर चुनावमा गरिएका सबै प्रतिबद्धताहरु धमाधम पूरा गर्ने बताउनुभयो । “यो सरकार नेपाली जनताको सरकार हो ।” उहाँले भन्नुभयो, “त्यसैले चुनावतामा जनताका अगाडि गरिएका सबै प्रतिबद्धताहरु यो सरकारले गम्भिरता पूर्वक पूरा गर्ने छ ।”

मन्त्री अधिकारीले थामखर्क विमानस्थल मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये ३२ औँ भएको उल्लेख गर्नुहुँदै यसको अन्य संरचनाका लागि अहिलेको सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो । यसका साथै खोटाङका तीन विमानस्थलमध्ये कालोपत्रेको काम भइरहेको लामीडाडाँ विमानस्थल दुई महिनाभित्र र धावनमार्ग भत्किएर निर्माणाधीन अवस्थामा रहेको मनमायाँ राई खानीडाडाँ विमानस्थल पनि एक वर्षभित्र सञ्चालनमा आउने आश्वासन दिनुभयो ।
खोटाङका तीनै वटा विमानस्थल सञ्चालनसँगै त्रिधार्मिकस्थ हलेसी, बराहापोखरी लगायत पर्यटकीय क्षेत्रको पर्यटन विकासमा मन्त्रालयको तर्फबाट यथोचित कदम चालिने उहाँले भताउनुभयो । विमानमार्फत थामखर्क ओर्लनुभएका पर्यटनमन्त्री अधिकारीले रिबन काटेर औपचारिक रुपमा विमानस्थल उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले यो विमानस्थलमा नियमित उडान सुरु भए सँगै यस क्षेत्रका जनताले परिवर्तनको महशुस गरेको वताउनु भएको छ । कार्यक्रमको विशेष अतिथिको रुपमा वोल्दै सांसद भट्राइले भन्नुभयो, यो एउटा प्रतिनिधि उदाहरण मात्र हो आफु सांसद भए पछि जिल्लामा महत्वपुर्ण गौरवका आयोजनाहरु धमाधम सञ्चालन भईरहेको वताउनु भएको छ ।

कार्यक्रममा नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले थामखर्क विमानस्थलमा हप्तामा दुई चोटी उडान भर्ने गरी तालिका निर्माण गरिने बताउनुभयो । यद्यपि कुन–कुन बार उडान सञ्चालन गर्ने भन्ने टुङ्गो भने भैनसकेको उहाँले बताउनुभयो । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले थामखर्क विमानस्थलका लागि आवश्यक सबै संरचना निर्माण गर्ने बताउनुभयो ।र हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ लगायतले समेत सम्बोधन गर्नुभएको थियो ।

परीक्षण उडान तथा उद्घाटन कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । कालोपत्रेको काम थालिएसँगै लामो समयसम्म अवरुद्ध रहेको विमानस्थल उद्घाटन भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त विमानस्थलको कालोपत्रे बेलामा काम नसकेको बारे चौतर्फी आलोचना भएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीले खोटाङको दक्षिणी क्षेत्रको एक मात्र विमानस्थल कालोपत्रेको काम नसकिदा खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका सर्वसाधारण आक्रोसित बनेका थिए ।
१५ महिनाभित्र पूरा गर्नेगरी २०७३ साल असोज २० गते सम्झौता गरिएको थामखर्क विमानस्थल कालोपत्रेका काम २८ महिनामा पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर रत्न श्रेष्ठले बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु. दश करोड ६० लाख ७१ हजार लागतमा रौता कन्स्ट्रक्सन प्रा.लि.ले उक्त विमानस्थलको कालोपत्रे गरेको हो ।

तपाईको प्रतिक्रिया