कविता ः शहिद

Halesi

–चित्रकुमार सुवेदी
हत्याहिंसा गर्नुहुँदैन
सधैं भनिरहने
कसैलाई नराम्रो नभन्ने
आँखामा राख्दा पनि नबिझाउने–पण्डित
तर, आज एक्कासी जङ्गिए
के भएछ पण्डितलाई
सबै खासखुस गर्न थाले
नेताको भाषण
आन्दोलनकारीको सडकको नारा
सत्ताको गोलीभन्दा
ठूलो स्वरमा
फलाक्न थाले पण्डित
जङ्गल मासे
खोला सडक बनाए
धुलो उडेर केटाकेटी बुढाबुढी
हिड्नु हुँदैन बाटोमा
आकाश भन्दा अग्ला घर
गरीबको सास फेर्ने बाटो बन्द भो
पण्डित त भावुक बनेर
रुँदै हात पो जोड्न थाले
कम्तिमा,
देशका लागि मर्नेलाई
आनन्दले सास त फेर्न देउ
ए मान्छे
कति लोभी बनेका
कति पापी बनेका
कति अत्याचारी बनेका
पण्डित रुँदै कराएको देखेर
आत्तिदै सोधिन् पण्डितनीले
हन हजुरलाई के भो
आफूलाई पढेलेखेको
भलाद्मी ठान्नेले
प्याच्च माझै मुखबाट बोलो
दुनियाको ग्रह सोहोर्दा सोहोर्दै
पण्डित बहुलायो
तर, पण्डित
मनोजको शालिकतिर हात देखाउँदै
हात उठाएर मुठी पारेर
कराउन पो थाले
शहिद अमर रहुन्
शहिद मनोज अमर रहुन्
यतिबेला पो
म झल्यास्स बिउझिएँ
मनोजको शालिक अगाडि
रहेको खाली जग्गामा
थुपारिएका गिटी, ढुङ्गा, माटो
रड र सिमेन्टका बोरा देखेर
सम्झिएँ आज शहिद दिवस
कानमा गुञ्जिरह्यो
पण्डित बाजेको नारा
शहिद अमर रहुन्
शहिद मनोज अमर रहुन् ।।

तपाईको प्रतिक्रिया