साकेला गाउँपालिका–३ खिदिमामा नेकपाका शिवकला राई विजयी

Halesi Khabar

खोटाङ, १५ मङ्सिर । साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी हुनुभएको छ । तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी हुनुभएको हो ।

गएराति सम्पन्न मत गणनाको परिणाम अनुसार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ मत र शुक्रबहादुरले ३७४ पाएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत आचार्यका अनुसार समाजवादी पार्टी नेपालका उम्मेदवार रमेश राईले १५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार इन्द्रबहादुर खड्काले १ मत मात्र प्राप्त गर्नुभएको छ ।

निर्वाचनमा १७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख कोपिला राईले जानकारी दिनुभयो । तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो ।

वडाध्यक्षमा विजयी नेकपाका शिवकला तिनै स्वर्गीय मणिकुमारका श्रीमती हुनुहुन्छ । खिदिमामा कुल मतदाता एक हजार ३०३ मध्ये ५०५ मत नखसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनमार्फत वडाध्यक्षमा विजयी भएसँगै शिवकला खोटाङको पहिलो र एकमात्र महिला वडाध्यक्ष बन्नुभएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ७८ वडामा पुरुष वडाध्यक्ष छन् ।

तपाईको प्रतिक्रिया