७१ वर्षीया वृद्धाले गरिन् रु २५ लाख मुल्यको जग्गा निःशुल्क दान

Halesi Khabar

खोटाङ, १० मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी ७१ वर्षीया कमला श्रेष्ठले रु २५ लाख मुल्य बराबरको जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गर्नुभएको छ । दुई छोरा र तीन छोरीकी आमा कमलाले उक्त मुल्य बराबरको पाँच रोपनी जग्गा आज (मङ्गलबार) दिक्तेलमा आएर वडा कार्यालयलाई निःशुल्क प्रदान गर्नुभएको हो ।

जेठा छोरा प्रतापसँगै दिक्तेल आउनुभएकी कमलाले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा निःशुल्क पास गरिदिनुभएको वडा सचिव चित्रकुमार सुवेदीले बताउनुभयो । जग्गादाता कमलाले खार्मीस्थित स्कूलडाँडामा रहेको आफ्नो नामको जग्गाधनीपूर्जा वडा कार्यालयको नाममा नामसारी गरेर मङ्गलबार नै वडाध्यक्ष रामचन्द्र राईलाई प्रदान गर्नुभएको छ ।

जग्गा अभावमा वडा कार्यालय भवन निर्माण गर्न नपाएपछि श्रेष्ठ परिवारलाई नयाँ भवन निर्माण गर्न निःशुल्क जग्गा दिन अनुरोध गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडाध्यक्ष राईका अनुसार अहिले भाडाको घरमा सञ्चालन भइरहेको वडा कार्यालय नजिकै रहेको जग्गा श्रेष्ठ परिवारले निःशुल्क प्रदान गरेका हुन् ।

श्रेष्ठ परिवारले निःशुल्क प्रदान गरेको जग्गा वडावासी सबैको पायक पर्ने ठाउँमा रहेको जनाइएको छ । निःशुल्क जग्गा प्राप्त भएसँगै भवन निर्माणका लागि नगरपालिकालाई अनुरोध गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालय खार्मीले जग्गा प्राप्त गरेसँगै यसै वर्षबाट वडाको आफ्नै कार्यालय भवन निर्माणको काम शुरु गरिने नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “खार्मीसँगै यस वर्ष ११ वटा वडामा आफ्नै कार्यालय भवन बनाउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “वडा कार्यालय भवन निर्माणका लागि प्रदेशबाट प्राप्त हुने समपूरक कोष र नगरपालिकाको ५०÷५० प्रतिशत लगानी हुनेछ ।”

१५ वटा वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश वडा भाडाको घरमा सञ्चालन भइरहेको छ । वडा नम्बर–८ दोर्पा बुवालुङमा भने यसअघि नै आफ्नै कार्यालय भवन निर्माण गरेर सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया