विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन राष्ट्रिय सेवा दल तालीम

Halesi Khabar

खोटाङ, १० मङ्सिर । विद्यालय तहमा अध्ययन गर्ने बालबालिकलाई देश र जनताप्रति जिम्मेवार, कामप्रति ईमान्दार र अनुशासित बनाउने उद्देश्यले खोटाङका दुई विद्यालयमा राष्ट्रिय सेवा दल (एन.सि.सि.) तालीम सञ्चालन भइरहेको छ । मूलुकमा भैपरी आउने बिपद् व्यवस्थापन लगायतका काममा सघाउ पु¥याउने उद्देश्यका साथ नेपाल सरकारले वि.सं. २०२२ सालबाट शुरु गरेको सो कार्यक्रम अन्तरगत दिक्तेलस्थित सरस्वती मावि र पञ्च माविमा तालीमको आयोजना गरिएको हो ।

कक्षा–८ र ९ मा अध्ययनरत विद्यार्थी सहभागी गराएर सञ्चालन गरिएको तालीमको व्यवस्थापन खोटाङमा दिक्तेलस्थित नेपाली सेनाको गोरखनाथ गण मुडे ब्यारेकले मिलाएको छ । तालीममा दुवै विद्यालयका ३६÷३६ जना छात्रछात्रा सहभागी छन् ।

तालीममा छात्रछात्राको चरित्र निर्माण गर्नु र उनीहरूमा भातृत्व तथा एकताको भावना जागृतगरि आफ्नो काममा जिम्मेवारी लिने बानी बसाल्ने तथा प्राकृतिक प्रकोप तथा देशमा सङ्कट आइपरेमा सहयोग गर्ने विधिहरू सिकाइने जनाइएको छ । तालीममा सहभागी विद्यार्थीलाई ड्रिल, खुकुरी ड्रिल, एरोबिक्स, तेक्वान्दो, राष्ट्रभक्ति गीतमा नृत्य, भलिबल तथा फुटबल खेल आदि सिकाइने सरस्वती मावि तालीम केन्द्रका प्रशिक्षक नेपाली सेनाका हवल्दार आशिष गौतमले जानकारी दिनुभयो ।

युवा शक्तिलाई अनुशासित, कर्तव्यनिष्ठ र निष्ठावान बनाएर नेतृत्व विकास गर्दै दक्ष नागरिक बनाउने उद्देश्यले तालीमको आयोजना गरिएको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी भोला पाण्डेले जानकारी दिनुभयो । “किशोरावस्थाका बालबालिका बढी कुलतमा फस्ने सम्भावना देखिन्छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई सानैदेखि राष्ट्रियता, अनुशासन, एकताको भावना, आत्मविश्वास, नेतृत्व र क्षमता विकास लगायत व्यक्तित्व विकासमा सहयोग गर्न तालीमको आयोजना गरिएको हो ।”

राष्ट्रिय सेवा दलको कार्यक्रम शुरुदेखिनै नेपाली सेनाको प्रत्यक्ष निगरानी र प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको जनाइएको छ । यस कार्यक्रमबाट बढी भन्दा बढी युवा पुस्ता लाभान्वित हुन सकुन भन्ने उद्देश्यले देशव्यापी रूपमा विस्तार गरिएको नेपाल सरकारले जनाएको छ ।

राष्ट्रिय सेवा दलमा भर्ना हुन कम्तिमा १४ वर्षदेखि बढीमा १६ वर्षसम्मका विद्यार्थी हुनुपर्ने जनाइएको छ । उचाईको हकमा छात्रको उचाई पाँच फिट र छात्राको कम्तिम चार फिट १० इन्च र तौल उमेर अनुसार हुनुपर्दछ ।

जिल्लामा गत असार–१ गतेबाट शुरु भएको तालीम ७९ दिनको वार्षिक क्याम्प दिक्तेलमा तथा २१ दिनको सामुहिक क्याम्प पूर्वी राष्ट्रिय सेवा दल तालीम शिक्षालय याङ्सिला मोरङमा सञ्चालन हुने जनाइएको छ । राष्ट्रिय सेवा दल अन्तरगत अहिले जुनियर डिभिजनका तालीम ७७ वटै जिल्लामा सञ्चालन भइरहेको छ ।

राष्ट्रिय सेवा दल तालीमले विद्यार्थीलाई अध्ययनमा रुची तथा सामुहिक काममा एकजुट हुन थप उर्जा थपेको सरस्वती माविका समन्वय शिक्षक धनीराम राईले जानकारी दिनुभयो । चार वर्षदेखि लगातार खोटाङमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रम अन्तरगत गत वर्ष १५ वटा माविमध्ये सरस्वती मावि उत्कृष्ट बनेको थियो ।

वि.सं. २०७२ सालमा दिक्तेलस्थित दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूलबाट शुरु गरिएको उक्त कार्यक्रमबाट हालसम्म २५२ जना छात्रछात्रा प्रशिक्षित भइसकेका छन् । तालीममा सहभागी तीन उत्कृष्ट छात्रछात्राले विदेश भ्रमण समेत गरिसकेका छन् ।

दिक्तेल बोर्डिङ स्कूलका कञ्चन राई र सरस्वती माविका नञ्जु राईले श्रृलङ्का तथा पञ्च माविका रामजी आचार्यले भारत भ्रमण गर्नुभएको जनाइएको छ । राष्ट्रिय सेवा दल तालीम लिएका छात्रछात्राले जिल्लामा हुने सार्वजनिक कार्यक्रममा स्वयम् सेवकको महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया