सात वर्षीय बालकले गरे आफ्नो जन्म दिनमा रु सात हजार आर्थिक सहयोग

Halesi Khabar

खोटाङ, ९ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका सात वर्षीय समृद्ध राईले आफ्नो जन्मदिनको अवसरमा सानोघर टाँडी चितवनलाई रु सात हजार आर्थिक सहयोग गर्नुभएको छ । मङ्सिर ९ गते आज (सोमबार) छ वर्ष पूरा गरी सात वर्ष टेकेको सन्दर्भमा बालक राईले सानोघरमा आश्रित फरक क्षमता भएका २० जना व्यक्तिलाई आर्थिक सहयोग गर्नुभएको हो ।

विद्या संस्कार (पहिलेको चेल्सी इन्टरनेसनल स्कूल) काठमाडौँमा कक्षा–१ मा अध्ययनरत बालकले विभिन्न पत्रिकामा प्रकाशित चित्रबापत प्राप्त पारिश्रमिक, चाडबाडमा पाएको दक्षिणा, आफन्तले दिएको पैसा सङ्कलन गरेर सानोघरलाई आर्थिक सहयोग गरेको समृद्धकी आमा रिंकु राईले जानकारी दिनुभयो । “समृद्धलाई सानैदेखि बाँडेर खानुपर्छ भन्ने पाठ सिकाएका छौँ”, उहाँले भन्नुभयो, “उनले प्रत्येक जन्मदिनमा जति वर्ष पुग्छन्, त्यति नै हजार सहयोग रकम प्रदान गर्ने भएका छन् ।”

समृद्धको जन्म दिनको अवसर पारेर उनको नाममा विद्यालय र घरमा दुई केक काटिएको जनाइएको छ । “तर, गत वर्षको जन्म दिनभन्दा सानो केक काटियो”, समृद्धकी आमा रिंकुले भन्नुभयो, “विगतका वर्षहरूमा वर्थ डे मनाउँदा, आफन्त, इष्टमित्र र छिमेकी बोलाएर खानपिन गराइन्थ्यो । यसपटकदेखि खानपिन गर्ने पैसा कटौती गरेर सामाजिक काममा लगाउने पारिवारिक सल्लाह भएको छ ।”

सात वर्षीय बालकबाट आर्थिक सहयोग पाउँदा आफूहरु खुसी भएको सानोघरकी संस्थापक बिमला श्रेष्ठ बताउनुभयो । “आफ्ना छोराछोरीका नाममा गरिने फजुल खर्च रोकेर सामाजिक काममा लगाउन खोज्ने समृद्ध राईका आमाबुबाप्रति कृतज्ञ छु”, उहाँले भन्नुभयो, “सम्बन्धित छोराछोरीका अभिभावकले सानैदेखि यस्तो संस्कार सिकाउँदै लगेमा सुन्दर नेपाल झन् सुन्दर बन्ने थियो ।”

जन्म दिनको अवसरमा फजुल खर्च गर्ने चलन वृद्धि हुँदै गएको समयमा समृद्धले चालेको कदम उदाहरणीय बनेको जिल्लावासीले बताएका छन् । पछिल्लो समय जिल्लाका हरेक बालबालिकाको जन्म दिनमा भोज लगाउने प्रचलन वृद्धि हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया