क्यान्सर पीडित महिलालाई नगरपालिकाको आर्थिक सहयोग

Halesi Khabar

खोटाङ, ४ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । आन्द्राको क्यान्सरबाट पीडित वडा नम्बर–१० पाथेकाकी ३१ वर्षीया सरिता राईलाई नगरपालिकाले रु ५० हजार आर्थिक सहयोग गरेको हो ।

निम्न आर्थिकस्तर भएका राईलाई नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले घरैमा पुगेर आर्थिक सहयोग प्रदान गर्नुभएको राजनीतिक सल्लाहकार कमल ढकालले बताउनुभयो । तेस्रो चरण पार गरिसकेका क्यान्सरको उपचार गर्न आर्थिक अभाव झेली रहेकी राईलाई हौसला स्वरुप सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

हाल किमो गराइरहेकी सरिताका श्रीमान वैदेसिक रोजगारीका सिलसिलामा विदेशमा हुनुहुन्छ । सरिता तीन छोरीका साथमा घर सम्हालेर बसिरहनुभएको छ ।

यस्तै, वडा नम्बर–२ सोल्माका मिर्गौला रोगबाट पीडित राजकुमार राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय दिपेन्द्र राईको संयोजकत्वमा गठित आर्थिक संकलन सहयोग समितिको पहलमा संकलन गरिएको रु तीन लाख रकम प्रतिनिधि सभासदस्य विशाल भट्टराईले मिर्गौला रोगी राईलाई हस्तान्तरण गर्नुभयो ।

मिर्गौलाको प्रत्यारोपण गर्ने आर्थिक अवस्था नभएकाले आफन्तले उहाँको सहयोगमा आर्थिक संकलन समिति गठन गरेर सहयोग जुटाउन अभियान चलाएको छ । अभियान जारी रहेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया