पर्यटन प्रवद्र्धनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जोड

Halesi Khabar

खोटाङ, ३ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन प्रवद्र्धनको कामलाई जोड दिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने सो नगरपालिकाले पर्यटकीय नगर बनाउने उद्देश्यका साथ नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति गर्ने कामलाई जोड दिएको हो ।

अहिले नगरपालिकाभित्र पर्ने पन्ध्र वटै वडामा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति धमाधम भइरहेको छ । रुपाकोट, मझुवागढी, भुलभुले दूधकुण्ड तथा रुवालुङ झरना, साप्सुढाप, बगरेभञ्ज्याङ, महुरेगढी लगायतको स्तरोन्नति गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राखिएको सो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर–१४ बुइपामा विश्वकै अग्लो यलम्बरको पूर्णकदको मुर्तीसहित यलम्बर पार्क (उद्यान) निर्माण शुरु गरिएको छ । एक नम्बर प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानीमा किराँती प्रथम राजा यलम्बरको पूर्णकदको मुर्तीसहित यलम्बर पार्क निर्माण शुरु गरिएको हो ।

तीस रोपनी सरकारी जग्गामा १०० फिट अग्लो यलम्बरको मुर्तीसहित निर्माण गरिने उद्यान करीब रु १४ करोड लागतमा पूरा हुने जनाइएको छ । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माणाधीन यलम्बर पार्कका लागि नगरपालिकाले गत आर्थिक वर्ष रु ७२ लाख बजेट विनियोजन गरेको थियो ।

किरात समुदायको ईतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा यलम्बर पार्क निर्माण शुरु गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “यलम्बर पार्क निर्माण गर्ने योजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “बुइपामा निर्माणाधीन यलम्बर पार्कले नगरपालिकाको मात्र नभइ प्रदेश नम्बर–१ कै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क समेत लिनेगरी निर्माण शुरु गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताउनुभयो । आगामी तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको यलम्बर पार्कमा अहिले प्रवेशद्धार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट गृह र पसल सञ्चालन गृहको काम सम्पन्न भएको छ ।
किराती ऐतिहासिकस्थल बुइपामा ढलौटबाट बन्ने यलम्बरको मुर्ती विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ । आफ्नो क्षेत्रमा किराती समुदायका पहिलो राजा यलम्बरको मुर्ती सहितको पार्क निर्माण हुने भएपछि स्थानीयबासी समेत हर्षित भएका छन् ।

सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवत÷जावत गर्न समेत सहज हुने जनाइएको छ । हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण शुरु गरिएको यलम्बर पार्कमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताउनुभयो ।

यलम्बर पार्कदेखि किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजना बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बर पार्कलाई महत्वका साथ हेरिएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने सगरमाथा राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैले सो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई छोएकाले पर्यटन विकासको सम्भावना प्रवल रहेको जनाइएको छ । नगरभित्रका धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति नसक्दै पर्यटकको संख्या वृद्धि हुँदै गएको स्थानीयवासीले बताएका छन् ।

नगरभित्रका अधिकांश धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति सकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि गत आर्थिक वर्ष रु दुई करोड १८ लाख २२ हजार ९५० रकम विनियोजन गरेको थियो ।

नगरपालिकाको लगानीमा रुपाकोटमा भ्यू–टावर (दृष्यावलोकनस्थल), भुलभुले दूधकुण्ड तथा रुवालुङ झरनामा पदमार्ग, प्रवेशद्धार लगायत आवश्यक भौतिक पूर्वाधार निर्माण, महुरेगढीमा आँखापोखरी, बगरेभञ्ज्याङमा कृतिम ताल तथा पेनटावर (निर्माणाधीन), मझुवागढीमा प्रवेशद्धार तथा पदमार्ग, साप्सुढापमा घेराबार तथा पाटी, अल्छेढुङ्गामा वाईफाई पार्क र बुइपामा सीतादेवी मन्दिर निर्माण गरिएको छ । नगरपालिकाका अन्य विभिन्न ठाउँमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति गर्ने काम भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया