जिल्लाकै नमूना तथा पूरानो विद्यालयमा ‘विद्यालय नर्सिङ कार्यक्रम’

Halesi Khabar

खोटाङ, मङ्सिर २ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा विद्यालय नर्स कार्यक्रम शुरु गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रम अन्तरगत जिल्लाको सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम शुरु गरिएको हो ।

सरस्वती माविको पाङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई लगायतले ब्यानरमा हस्ताक्षर गर्दै विद्यालय नर्स कार्यक्रम उद्घाटन गर्नुभएको छ । विद्यालय उमेर समूहका बालबालिकालाई स्वास्थ्य सम्बन्धी ज्ञान दिएर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्नका लागि प्रदेश सरकारले ‘द्यिालय नर्सिङ’ कार्यक्रम ल्याएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले एक जना नर्स उपलब्ध गराएपछि केही समयपछि नै विद्यालय नर्स कार्यक्रम नियमितरुपमा सञ्चालन हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले बताउनुभयो । हरेक सामुदायीक विद्यालयमा एक जना नर्स राख्ने व्यवस्था अनुसार प्रदेश नम्बर १ का १४ सामुदायिक विद्यालयमध्ये खोटाङको सरस्वती माविले ‘विद्यालय नर्सिङ’ कार्यक्रम सञ्चालन गर्ने अवसर पाएको हो ।

जिल्लाकै सबैभन्दा पूरानो सरस्वती माविमा विद्यालय नर्स, डिजिटल विद्यालय तथा विद्यालय स्वास्थ्य कार्यक्रम एकैसाथ शुरु गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको सो विद्यालयलाई पछिल्लो समय शैक्षिक, भौतिक लगायत विभिन्न हिसाबले जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित गरिएको छ ।

सो विद्यालयमा ७६ वर्षीया वृद्धा जुरीमायाँ राईसँगै निजी विद्यालय छाडेर आउने विद्यार्थीहरु समेत अध्ययनरत छन् । पढ्नका लागि उमेरले छेक्दैन भन्ने सन्देश दिँदै हाल कक्षा–२ मा अध्ययनरत केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी जुरीमायाँलाई सो कार्यक्रममा दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया