दिक्तेल–हलेसी सडक कालोपत्र सकियो, नियमित यातायात सञ्चालनमा सहज

Halesi Khabar

खोटाङ, १ मङ्सिर । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएको छ । एसियाली विकास बैङ्क (एडिबि)को आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित रत्नपार्कदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३६ किलोमीटर सडक कालोपत्र सम्पन्न भएको हो ।

एडिबिको ४६ करोड ८९ लाख ९२ हजार २२७ रुपैयाँ पाँच पैसा लगानीमा साँढे छ मीटर फराकिलो पारिएको सो दिक्तेल–हलेसी सडकमा साँढे पाँच मीटर चौडाई कालोपत्र गरिएको आयोजना प्रमुख विजयकुमार थापाले बताउनुभयो । थापाका अनुसार तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको उक्त दिक्तेल–हलेसी सडक खण्डको हलेसीदेखि विजुलेसम्मको १२ किलोमीटर १५ करोड ५२ लाख ५१ हजार ६९६ रुपैयाँ ७५ पैसा, विजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर १५ करोड ८९ लाख ३४ हजार ५५२ रुपैयाँ ०७ पैसा र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमीटर १५ करोड ४८ लाख पाँच हजार ९७८ रुपैयाँ ३० पैसामा सम्पन्न गरिएको हो ।

तीन वर्षभित्र सम्पन्न गर्नेगरि वि.सं. २०७१ साल जेठ १६ गते ठेकेदार कम्पनीसँग सम्झौता भएपनि दुई वर्ष ढिलो गरेर पाँच वर्षमा मात्रै कालोपत्र सम्पन्न भएको छ । वि.सं. २०७२ साल वैशाखमा गएको भूकम्प तथा भारतीय नाकाबन्दी लगायतका कारण तोकिएको मितिमा काम सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्ला आवत÷जावत गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीका लागि प्रयोग गरिने दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएपछि जिल्लावासी समेत हर्षित भएका छन् । वि.सं. २०६४ सालबाट कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सो दिक्तेल–हलेसी सडक हिउँदभर सञ्चालन हुने र वर्षा लाग्नासाथ करीब छ महीना बन्द हुने गरेको थियो ।

हलेसीदेखि विजुलेसम्मको १२ किलोमिटर खण्ड कालोपत्र गर्ने जिम्मा लुम्बिनी–कन्काई–सुर्य तथा विजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर लामा–नागार्जुन र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमीटर लामा–नागार्जुन–त्रिसुली जेभीले लिएको थियो । कालोपत्रको सम्पूर्ण काम सम्पन्न भएपनि अर्को वर्ष मात्रै सडक विभागलाई जिम्मा दिइने लामा–नागार्जुन–त्रिसुली जेभीका प्रतिनिधि राजाराम आचार्यले बताउनुभयो ।

हिउँदमा धुलो र वर्षाद्को समयमा हिलोका कारण कष्टप्रद्ध यात्रा गर्ने पैदल यात्रीलाईसमेत सडक कालोपत्र भएपछि यात्रा गर्न सहज भएको छ । कच्ची अवस्थामा सञ्चालन भएको लामो समयपछि दिक्तेल–हलेसी सडक कालोपत्र भएसँगै जिल्लामा दैनिक उपभोग्यवस्तुको मुल्य समेत केही मात्रामा घटेको उपभोक्ताहरुले बताएका छन् ।

दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएसँगै जिल्लामा विकासको मुहान फुटेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक जिल्लाको प्रमुख सडक हो”, उहाँले भन्नुभयो, “जिल्लामा हुने भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक सामग्री सोही मार्गबाट जिल्ला भित्र्याइने हुँदा दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएसँगै सहज रुपमा ढुवानी गर्न सकिने भएपछि भौतिक विकासको कामले गति लिने अपेक्षा गरेका छौँ ।”

जिल्लामा निर्माण हुने अधिकांश भौतिक पूर्वाधारका कामलाई आवश्यक निर्माण सामग्री सोही मार्ग प्रयोग गरेर बाहिरी जिल्लाबाट ढुवानी गर्ने गरिएको छ । छिमेकी जिल्ला भोजपुर हुँदै किमाथाङ्का जोड्ने सो सडक समयमा सम्पन्न गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत अनुगमनका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिलाई भेला गरेर चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

यद्यपि, जिल्लाको प्रमुख मार्गमा दिक्तेल–हलेसी सडक कालोपत्रको काम भने गुणस्तरीय नभएको सर्वत्र गुनासो छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल प्रयोग गरिएका कारण गुणस्तरहीन भएको प्रत्यक्षदर्शीले आरोप लगाएका छन् ।

प्रहरी प्रशासनकै आँखा अगाडि दिक्तेल–हलेसी सडक कालोपत्र गुणस्तरहीन बनेकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयवासीले बताएका छन् । ठेकेदार कम्पनीले भने मापदण्ड अनुसारको निर्माण सामग्री प्रयोग गरेको दाबी गरेका छन् ।

कालोपत्र गर्नुअघि सडकको बीचबाट दायाँबायाँ साँढे सात÷साँढे सात मीटर जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण गरिएको थियो । आयोजना प्रमुख थापाका अनुसार सडक आसपासमा रहेका १०८ घरपरिवारलाई मुआब्जा दिएर हटाउनुका साथै ९०७ जना जग्गाधनीलाई मुआब्जा दिइएको हो ।

तपाईको प्रतिक्रिया