भारतीय नक्साको बिरोधमा शिक्षक सङ्गठनको आन्दोलन

Halesi Khabar

खोटाङ, २९ कातिक । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समेटिएको भन्दै त्यसको बिरोधमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट शिक्षक सङ्गठनले आन्दोलन गरेका छन् । भारतको नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै उक्त नेपाली भूमि फिर्ताको माग गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङमा आवद्ध शिक्षकले शुक्रबार बिरोध ¥याली प्रदर्शन गरेका हुन् ।

‘नेपाली भूमि अतिक्रमणको बिरोध गरौँ, राष्ट्रिय स्वाभिमान र अखण्डताका लागि एक जुट होऔँ’ भन्ने नारा लेखिएको कालो ब्यानर सहित राष्ट्रिय झण्डा बोकेको बिरोध ¥यालीले दिक्तेलबजार परिक्रमा गरेको थियो । अतिक्रमणमा परेको नेपाली भूमि फिर्ताको माग गर्दै आन्दोलित दुवै शिक्षक सङ्गठनले ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, देशले रगत मागे, गाउँछ गीत नेपाली, जाग लम्क चम्क हे’ लगायत देशभक्ति स्वदेश गान घन्काएर संयुक्त बिरोध ¥याली निकालेका थिए ।

बिरोध ¥यालीमा सहभागी शिक्षकले ‘भारतीय हस्तक्षेप बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ इन्डिया, असमान सन्धी खारेज गर, मिचिएका भू–भाग फिर्ता गर’ जस्ता प्लेकार्ड बोकेका थिए । भारतले जारी गरेको नक्सा तत्काल नसच्याइएमा चरणवद्ध आन्दोलन घोषणा गरेर अगाडि बढ्ने शिक्षक सङ्गठनले जनाएको छ ।

भारतीय नक्साको बिरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएको शिक्षक सङ्गठनले शुक्रबार नै खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायलाई भेटेर ध्यानाकार्षणपत्र समेत बुझाएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष मनकाजी राई र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष कृष्णबहादुर गुरुङले प्रजिअ उपाध्यायलाई भेटेर संयुक्त रुपमा ध्यानाकार्षणत्र बुझाउनुभएको हो ।

“वर्तमान समयमा नयाँ नक्साङ्कनको नामगरि नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको विषय स्वाभीमानी नेपालीको लागि मान्य हुने छैन”, प्रजिअ उपाध्यायलाई बुझाइएको ध्यानाकार्षणपत्रमा भनिएको छ, “हाम्रो कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर्न माग गर्दै आवश्यक कुटनीतिक तथा कानूनी प्रक्रिया अगाडि नेपाल सरकारलाई अनुरोध गर्दछौँ ।”

आन्दोलनमा उत्रिएको शिक्षक सङ्गठनको ध्यानाकार्षणपत्र बुझ्नुहुँदै प्रजिअ उपाध्यायले सम्बन्धित निकायमा पठाएर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रजिअ उपाध्यायलाई बुझाइएको ध्यानाकार्षणपत्र जिल्लास्थित राजनीतिक दल र जिल्ला समन्वय समितिलाई बोधार्थ दिएको छ ।

प्रजिअ उपाध्यायलाई ध्यानाकार्षणपत्र बुझाएपछि जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजित कोणसभामा बोल्ने वक्ताहरुले भारतीय हस्तक्षेपको चर्को बिरोध गरेका थिए । कोणसभामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष राई, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुरुङ लगायतले सम्बोधन गर्नुभएको थियो ।

यसअघि गत शुक्रबार जिल्लामा क्रियाशील साहित्यकारहरुको संस्थाले भारतीय हस्तक्षेप बिरुद्ध सडक साहित्यिक आन्दोलन गरेको थियो । प्रगतिशील लेखक सङ्घ, टेम्के तुवाचुङ प्रतिष्ठान नेपाल, किराँत राई लेखक सङ्घ, साईनो कला केन्द्र र उन्मुक्त पुस्ता खोटाङले दिक्तेलस्थित त्रिवेणीचौकमा साहित्यिक आन्दोलन गरेको हो ।

तपाईको प्रतिक्रिया