दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘स्कुल नर्स कार्यक्रम’ शुरु

Halesi Khabar

खोटाङ, २१ कातिक । दिपु्रङ चुइचुम्मा गाउँपालिकाले ‘स्कूल नर्स कार्यक्रम’ शुरु गरेको छ । स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा जनस्तरसम्म पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले बिहिबारदेखि कार्यक्रम शुरु गरेको हो ।

महेन्द्रोदय माविबाट शुरु गरिएको कार्यक्रम गाउँपालिकाभित्र पर्ने सबै विद्यालयमा बिस्तार गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले बताउनुभयो । दाहालका अनुसार हरेक विद्यालयमा हरेक हप्ताको एक दिन नजिकको स्वास्थ्य संस्थाका प्रतिनिधिले स्वास्थ्य सम्बन्धी जानकारी दिनेछन् ।

विद्यालयस्तरका बालबालिकालाई स्वास्थ्य सम्बन्धी चेतना मूलक प्रशिक्षण प्रदान गर्न वडा नम्बर–२ ओख्रेडाँडागाउँस्थित महेन्द्रोदय माविबाट कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरेको छ”, उहाँले भन्नुभयो, “हरेक घर तथा जनतासम्म स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन ‘स्कूल नर्स कार्यक्रम’ शुरु गरेका हौँ ।”

हात धुनुको महत्व, झाडापखालाबाट बच्ने उपाय, स्वासप्रस्वास रोगको घरेलु उपचार, टाइफाइड रोगको लक्षण तथा बच्ने उपाय, पोषणको आवश्यकता तथा महत्व, सुत्केरी आमा तथा बच्चाको स्याहार गर्ने तरिका, गर्भावस्थामा गर्नुपर्ने स्याहार तथा खतारका लक्षणका कारेमा जानकारी दिइन्छ । यस्तै, महिनावरी तथा महिनावरी भएको अवस्थामा गर्नुपर्ने सरसफाइ, सुनौलो हजारको दिनको महत्व, एड्स तथा यौनको लक्षण तथा बच्ने उपाय, किशोरी तथा गर्भवतीका लागि आइरन चक्कीको महत्व, प्रसुतिगृहमा बच्चा जन्माउनुको फाइदा, बालविवाहले गर्ने असर, नाक, कान र घाँटीको सरसफाइ गर्ने तरिका, परिवार नियोजन गर्नुको फाइदा, प्राकृतिक प्रकोपबाट बच्ने उपाय लगायत ४५ वटा शीर्षकमा जानकारी गराइने जनाइएको छ ।

स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गाउँपालिका प्रमुख राईले औपचारिक उद्घाटन गर्नुभएको थिायो । उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार खड्का, प्रधानाध्यापक केशव खड्का लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया